काठमाडौं — प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले न्युटनले भन्दा पहिले भाष्कराचार्यले न्युटनको गुरुत्वाकर्षण पत्ता लगाएको भन्दै नेपाल विद्वताको खानी भएको बताएका छन्।
अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मङ्गलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनुभन्दा धेरै अघि भाष्कराचार्यले यो नियम पत्ता लगाएका हुन्। उनीहरुले प्रचारप्रसार गरेर हाम्रा पुर्खाले पत्ता लगाएको कुरालाई ओझेल पारे।’
पुर्खाहरुले आफ्नो अनुभूतिलाई ज्ञानको रुपमा विकास गर्न हजारौं वर्षअघि योगदान गरेको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्री ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणि मुलुक भएको बताए। अरू देशका मानिसहरू ढुङ्गाको भरमा सिकार गर्दै गर्दा नेपालमा वेदका ऋचाहरुको रचना भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालमा अहिले व्यवस्था परिवर्तन भएर थिती तथा विधि बसेको दाबी गरे। कतिपय भने थिति र विधिको शासन मन नपरेर पुरानै धङधङी पालेर बसेको प्रधानमन्त्रीले टिप्पणी गरे।
कुनैबेला पुर्खाहरुले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन’लाई वर्तमान सरकारले राष्ट्रिय आकांक्षाका र ‘सुखी नेपाली समृद्ध नेपाल’को रूपमा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ। नेपाली संस्कृति सभ्यताको परिचायक भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालीहरूलाई सांस्कृतिक रूपमा पनि पुर्वजहरुले बाटो देखाइदिएको उल्लेख गरेको बताए
पछिल्लो समय नेपालको सभ्यता क्षय हुँदै गएकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे। ‘सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएका छन,’ प्रधानमन्त्री ओलीले भने, ‘सञ्चारमाध्यमले अरुको नक्कल गर्ने भएर आदरार्थी शब्द पनि बिर्सिएका छन्।’