एजेन्सी– भारतको झारखण्ड स्थित राँचीको अदालतले चचिृत बलिउड अभिनेत्री अमीषा पटेललाई धोका र चेक बाउन्सको मामिलामा पक्राउ पुर्जी जारी गरेको छ। यसको जानकारी प्रहरीले शनिबार मात्र दिएको हो। पटेल विरूद्ध राँची निवासी फिल्म निर्माता अजय कुमार सिंहले उजुरी दिएका हुन्।
’अमीषा पटेल र उनका व्यापारिक साझेदार कुणालले सिनेमा बनाउनका लागि मसँग २ करोड ५० लाख भारू लिएका थिए। उनीहरूले सन् २०१८ मा सिनेमा रिलिज भएपछि पैसा फर्काउने वाचा गरेका थिए तर सिनेमा रिलिज भएन। त्यसपछि जब मैले अमीषासँग पैसा मागें तब उनले मलाई ३ करोडको चेक दिएकी थिइन, जुन पछि बाउन्स भयो’, सिंहले भने।
अब पक्राउ पुर्जी लिएर राँची प्रहरी मुम्बई जानेछ। यसैगरी उजुरीकर्ता सिंहले अमीषा र उनका साथी कुणालले आफ्नो फोनलाई बेवास्ता गरेपछि अन्य कुनै विकल्प नभएर आफूले बाध्य भएर प्रहरीमा उजुरी दिएको बताएका छन्।
गत साल अमीषाले ’देशी म्याजिक’ सिनेमा रिलिजका लागि सिंहसँग पैसा लिएकी थिइन्। पटेल हाल जारी बिग वोसको १३ औं संस्करणमा प्रतिष्पर्धी रहेकी छन्।