सप्तरी — सप्तरी सदरमुकाम राजविराज स्थित शिव ईन्टरनेशनल बोर्डिङग स्कुलका शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेका छन्। शिक्षकको कुटाईबाट ६ कक्षामा अध्यनरत १३ बर्षीय बालक सुमित कुमार घाईते भएका छन्।
विद्यालयका शिक्षक चन्दन झाले सुमितलाई फलामे पाइपले निर्धात कुटपिट गरी घाइते बनाएको बालकका आफन्तले बताएका छन्।कुटपिटका कारण उनको खुट्टा, हात, पिठउ र ढाडमा निलडाम भएको छ। कुटपिट पछि घाइते भएका बालक सुमितको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई मंगलबार घर ल्याईएको छ।
सुमितका वुवा सदानन्दले शिक्षक झा माथि कडा कारवाही तथा क्षतिपुर्तिको लागि माग गरेका छन्। छोरालाई अध्ययनका लागि विद्यालयको होस्टलमा राखेका हौं, गाई गोरु झै कुटनका लागि होइन उनले थपे यो त अति भो, यसरी यातना दिने शिक्षकलाई अभिलम्ब पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ।
सुमित विगत ६ महिना देखि उक्त विद्यालयको होस्टलमा बसी अध्ययन गर्दै आएका थिए। प्राप्त घटना विवरण अनुसार सोमबार उनी घर जान जिदी गरेका थिए। उनी बस चढेर घर जान जिद्धी गर्न थालेपछि आक्रोशित बनेका शिक्षक झाले बसमा रहेको फलामे पाईपले बालक सुमित माथि अन्धाधुन्द प्रहार गरेका थिए।
प्रिन्सिपल नरेश प्रताप साहले घटना दुखद भएको भन्दै यसबारे आवश्यक छानविन गरी दोषी शिक्षक माथि विद्यालयले आवश्यक कार्यवाही प्रकृया अगाडी बढाउने बताएका छन्। यता प्रहरीले पिडित पक्षको उजुरीका आधारमा आवश्यक अनुसन्धान र कारवाही प्रकृया अघि बढने जनाएको छ।