सन् २००९ को नोभेम्बर महिनामा नेपाल क्रिकेट संघ (क्यान)ले तत्कालीन कप्तान बिनोद दासलाई कप्तानिको जिम्मेवारीबाट अलग गर्दै पारस खड्कालाई नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनाएको थियो। सन् २००४ मा मलेसीयाबिरुद्धको खेलबाट नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेका पारसले सन् २००९ को नोभेम्बरमा विश्वक्रिकेटको चर्चित शारजाह क्रिकेट मैदानमा पुनः मलेसीयाविरुद्ध नै राष्ट्रिय टोलीको कप्तानीमा डेब्यू गरेका थिए। राष्ट्रिय टोलीको कप्तानी सम्हालेको एक दशकपछि पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। नेपाली क्रिकेटले प्राप्त गरेको एकदिवशिय मान्यता होस् वा विश्वको आँखामा नेपाली क्रिकेट प्रतिको बदलिएको हेर्ने नजर होस् दुबैमा कप्तान पारसको भूमिका र योगदान अतुलनीय रहेको छ। नेपाली क्रिकेट फ्यान्सहरुको नजरमा नेपाली क्रिकेटको भगवान बनेका कप्तान पारस वास्तवमा नै नेपाली क्रिकेटको एक अविस्मरणीय वरदान हुन्। लगातारको हारबाट गुज्रीरहेको नेपाली क्रिकेटको कप्तानी सम्हालेको केहि महिनामा डिभिजन ५ को उपाधि दिलाएका पारसले नेपाललाई पहिलो पटक विश्वकप र नेपाली टोलीलाई एक दिवसीय मान्यतासम्म पुर्याउन अतुलनीय योगदान गरेका छन्। पारसको कप्तानीलाई दूई भागमा विभाजन गरेर हेर्न उपयुक्त हुन्छ। डिभिजन ५ देखी विश्वकपसम्मको कप्तानी र विश्वकप देखी राजीनामा घोषणासम्मको कप्तानी। भनिन्छ, क्रिकेटमा आक्रामक र चतुर कप्तानहरु अत्याधिक सफल रहन्छन्। पूर्व अस्ट्रेलियन कप्तानहरु हुन् वा इमरान खान, कपिल देव हुन वा सौरभ गांगुली, यिसबै आक्रामक कप्तानहरुमा गनिन्छन्। जो अत्याधिक सफल पनि मानिन्छन्। सन् २०१४ को विश्वकप अगाडि पारस पनि एक आक्रामक कप्तानको रुपमा प्रस्तुत हुने गर्दथे। मैदानमा कसैसँग सम्झौता नगर्ने पारसमा खेल जित्ने भोक सजिलै देख्न सकिन्थ्यो। आफ्नो बलिंग रणनीतिमार्फत विपक्षी टोलीमाथि हर समय दबाब कायम राख्ने गरेका पारसले विपक्षी टिममाथि निरन्तर आक्रमण गरिरहन्थे। पारसको यही कप्तानीको नतिजा थियो की नेपाली टोली केहि आक्रामक प्रगतीतर्फ अघि बढिरहेको थियो। तर सन् २०१४ को विश्वकपपछि भने पारसको कप्तानीमा परिवर्तन आउन थालेको थियो। जितको लागि मैदानमा लड्ने कप्तान पारस खड्का त्यसपछि भने हार देखी डराउन थालेका थिए। खेल हारिने डर पारसमा ज्यादा देखिन थालो जसले गर्दा पारसको आक्रामक कप्तानी विस्तारै रक्षात्मक कप्तानीको रुपमा परिणत हुदै गयो। एकातर्फ सिमित अवसर अनि अर्कोतर्फ राजनीतिक विवादमा फसेको क्यानमाथी क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले लगाएको प्रतिबन्दले कप्तान पारसमाथी थप जिम्मेवारी आइपर्यो। मैदानमा मात्र कप्तानको भूमिकामा रहने पारसको अगाडी समग्र नेपाली क्रिकेटको अभिभावकको भूमिका निभाउनपर्ने बाध्यकारी अवस्था थियो। नयाँ खेलाडिको उत्पादन, नयाँ प्रतिभाको पहिचान र तिनीहरुमाथी उचित न्याय गर्दै नेपाली क्रिकेटलाई बचाइ राख्ने जिम्मेवारी कप्तान पारसको काँधमा आएको थियो। सायद कप्तानी मात्र नभई समग्र नेपाली क्रिकेटको अभिभावकको नयाँ जिम्मेवारीले पनि हुनसक्छ पारसको कप्तानीमा आक्रामकता भन्दा रक्षात्मकता हावी हुदै गयो। जसले गर्दा पारसको कप्तानीको विकल्प खोज्नु पर्ने महसूस पनि धेरैले गर्न थाले। तर, नेपाली क्रिकेटको अभिभावक र कप्तान दुबैको जिम्मेवारी एकै व्यक्तिले सम्हाल्नुपर्ने अवस्थामा पारस खड्काको विकल्प नेपालमा कोहि पनि थिएन। र सो अवस्था फेरी आएमा पारसको विकल्प कोहि पनि छैन। सायद पारस खड्काले पनि यही महसुस गरेका थिए। त्यसैले पनि हुन सक्छ आइसीसीले क्यानमाथीको निलम्बनलाई सशर्त फुकुवा गरेको २४ घण्टा नपुग्दै उनले कप्तानीबाट अलग रहने घोषणा गर्दै क्यानलाई अब नयाँ ढङ्गले सोच्न र अगाडि बढ्न मार्ग प्रसस्त गरिदिएका छन्। विश्वक्रिकेटको लागि हिजो सोमबारको दिन एक अविस्मरणीय दिन बनेको छ। भारतिय पूर्व कप्तान सौरभ गांगुली भारतिय क्रिकेटको सर्वोच्च निकायको अध्यक्ष बन्ने सुखद खबरबाट हिजोको दिनको सुरुवात गरेका विश्वक्रिकेट पारखीहरुले आइसीसीको निलम्बनमा परेको जिम्बाब्वे र क्यानमाथीको प्रतिबन्द फुकुवाको अर्को सुखद समाचारबाट दिनको अन्त्य गरेका थिए। सौरभ गांगुली भारतिय क्रिकेटको अवस्था परिवर्तन गर्ने एक सफल कप्तान मानिन्छन्। आक्रामक कप्तानीबाट विश्वलाई आफ्नो मुठ्ठीमा पारेका गांगुली छिमेकी देशको क्रिकेटको सर्वोच्च निकायको प्रमुख बनिरहदा नेपालमा पनि अब नेपाली सौरभ गांगुलीको खोजी आवश्यक बनेको छ र पारसको राजिनामाले खोजीको लागि बाटो खोलीदिएको छ। सन् ९० को दशकको अन्त्यतिर भारतिय क्रिकेट, म्याच फिक्सिंग जस्तो गम्भिर आरोपमा फसेको थियो। तत्कालीन कप्तान र पूर्व कप्तान जस्ता खेलाडीहरु म्याच फिक्सिंगको कारण निलम्बनमा परेपछि भारतिय क्रिकेटको छवि विश्वसामु धमिलिएको थियो। भारतिय फ्यान्समा क्रिकेट प्रतिको मोह घटिरहेको थियो र टिमको खराब प्रदर्शन जारी थियो। यस्तोमा फिक्सिंगपछि टिम सम्हालेका क्रिकेटका भगवान भनेर चिनिने सचिन तेन्दुलकरले राजीनामा दिएपछि भारतिय क्रिकेट झन् संकटग्रस्त बन्न पुगेको थियो, जसलाई नेतृत्व दिए सौरभ गांगुलीले। फ्यान्सको गुमेको विश्वासलाई फर्काउदै गांगुलीले विश्वसामु एउटा बलियो र नयाँ भारतीय टोली उभ्याइदिएका थिए। घरेलु मैदान बाहेक भारतले लड्न सक्दैन भन्ने विश्व मान्यतामाथि धावा बोल्दै गांगुलीले अब भारतिय टोली जितको लागि जस्तो सुकै लडाई लड्न तयार छ भनि विश्वसामु देखाइदिए। मैदानमा टसको समयमा अस्ट्रेलियन कप्तानलाई मैदानमा नै केहि बेर पर्खाएर अब विश्वक्रिकेट माथीको अस्ट्रेलियन दबदबाको अन्त्य भयो भनि मनोवैज्ञानिक चेतावनी होस् वा लर्डस्को मैदानमा जितपछि जर्सी खोलेर फहराएको दृश्य, गांगुलीले विश्व सामु आक्रामक कप्तानको आगमनको चेतावनी दिइसकेका थिए। गांगुलीको यही समयबाट सुरु भएको थियो, भारतिय क्रिकेटको नयाँ अवतार। सायद अब नेपालमा पनि सौरभ गांगुलीजस्तै कप्तानको आवश्यकता भइसकेको छ, जसले विश्वलाई भन्न सकोस् नेपाल अब कमजोर नेपाल होइन, हामी यहाँ जित्न आएका हौ तर हार्नबाट भने डराउदैनौ। तत्कालीन समयमा यदि क्रिकेटको भगवान भनेर चिनिने सचिनले कप्तानी नछोडेको भए सायद भारतले सौरभ गांगुलीलाई कप्तानको रुपमा पाउने नै थिएन र सायद भारतिय क्रिकेटले आजको उचाइ प्राप्त गर्न सक्ने नै थिएन। सचिनको उक्त निर्णयले भारतिय क्रिकेटको गेम चेन्ज गरिदिए जस्तै नेपाली क्रिकेटको भगवान पारसको राजीनामाले पनि अब नेपाली क्रिकेटको गेम चेन्ज गर्न सफल हुनै पर्छ। क्यानको नयाँ नेतृत्वले अब नेपाली क्रिकेटमा फरक ढंगको सोच राख्न आवश्यक छ। परम्परागत सोचबाट नेपाली क्रिकेटको आगामी यात्रा सम्भव छैन। अनौठो संयोग नै मान्न सकिन्छ तर उनै सौरभ गांगुली भारतिय क्रिकेटको प्रमुख बन्ने निश्चित भएकै दिन नेपालले पनि सौरभ गांगुली जस्तै कप्तानको खोजि सुरु गर्न आवश्यक छ। जसले अब नया नेपाली क्रिकेट टोलीलाई विश्वसामु प्रस्तुत गरोस् र हार्नको डर हटाएर जित्नको लागि खेलोस्। त्यसैले आज खुसी साथ अभिभावकत्व र कप्तानीको लागि धन्यवाद पारस खड्का भनौँ र अब नेपाली सौरभ गांगुलीको खोजी गरौँ।