एजेन्सी _ विश्वकप २०२० तथा एसियन कप २०२३ छनोटको समूह ‘बी’ अन्तर्गत केही बेरमा सुरू हुने खेलमा विमल घर्ती मगर पहिलो रोजाइमा परेका छन्।
नेपाली टोलीका स्वीडिस प्रशिक्षक योहान कालिनले सार्वजनिक गरेको पहिलो रोजाइमा विमलले मौका पाएका हुन्। यसअघि अस्ट्रेलियाविरूद्धको खेलमा कालिनले अभिषेक रिजाललाई मौका दिएका थिए।
जोर्डनको घरेलु मैदान अमान रङ्गशालामा नेपाली समयअनुसार राति पौने १० बजे हुने खेलमा मिडफिल्ड सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द, सन्तोष तामाङ र रवि पासवानले सम्हाल्ने भएका छन्।
त्यस्तै रक्षापंक्तिमा अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल र दिनेश राजवंशीले सम्हाल्दा नियमित गोलकिपर किरण चेम्जोङले कप्तानी जिम्मेवारीसहित गोल पोष्ट सम्हाल्ने छन्।
छनोटको पहिलो खेलमा कुबेतसँग ७-० को फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो।
गत साता ४४औं वरियता प्राप्त टोली अस्ट्रेलियाविरुद्धको खेलमा ५-० ले पराजित भएको नेपाल वरियतामा १६१औं स्थानमा छ।
नेपालले घरेलु मैदानमा छनोटको पहिलो खेल मंसिर ३ गते कुबेतसँग खेल्ने छ।