काठमाडौं _ प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेटमा केही मन्त्रीहरुलाई राखेर सेट नै परिवर्तन गर्ने तयारी गरेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमण सम्पन्न गरी फर्केको भोलिपल्टै सोमबार ओलीले नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमा बोलाएर मन्त्रिमण्डलमा सेट परिवर्तनबारे छलफल गरेका थिए। नयाँ मन्त्रीहरुको सूची तयार गर्ने गरी छुट्टिएका दुवै नेताहरु बुधबार पुनः बैठक बस्ने भएका छन्।
अबको मन्त्रिमण्डलमा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बास्कोटा र भर्खरै मन्त्री भएका पर्यटनमन्त्री योगेश भट्टराई बाहेकलाई हटाउन चाहेका छन्। प्रचण्डले पनि बुहारी विना मगरलाई मन्त्री कायमै राख्न खोेजेका छन्।
अबको मन्त्रिमण्डलमा परिवर्तन भएमा महेश बस्नेत आउने पक्का छ। उनी विगतमा पनि मन्त्री भएर चर्चामा आएका थिए। बस्नेत ओलीका प्रीय हुन्। उपसभामुखबाट राजीनामा दिलाएर डा। शिवमाया तुम्बाहाम्फेलाई पनि मन्त्री बनाउने तयारी भएको छ।
ओली निकटस्थ विष्णु पौडेल अर्थमन्त्री बन्ने सम्भावना बलियो भएको छ। डा। युवराज खतिवडाको स्थानमा पौडेल आउन सक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ। तनहुँबाट चुनाव जितेका किसान श्रेष्ठ पनि मन्त्री बन्ने सम्भावना बलियो भएको छ। उनलाई वामदेव गौतमको दरिलो समर्थन छ।
पूर्व एमालेबाट ओलीको नजिक रहेका नयाँ अनुहार पनि आउने भएका छन्। ओलीले महिला र दलितबाट पनि प्रतिनिधित्व गराउन चाहेको बुझिएको छ।
पूर्व माओवादीबाट टोपबहादुर रायमाझी, जर्नादन शर्मा, अग्नि सापकोटा, प्रभु शाहको सम्भावना बलियो छ। पम्फा भुषाललाई यसपटक मन्त्री बनाउने तयारी भएको छ।
भुषाल हक्की भएकाले उनलाई मन्त्री बनाउँदा आफ्नो पक्षको प्रभाव बलियो हुनसक्ने आधारमा पूर्व माओवादीभित्र छलफल चलिसकेको छ। केही नयाँ अनुहार पनि मन्त्रीका सम्भावित छन्