काठमाडौं _ कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तगर्त समूह बीको अन्तिम अवे खेलमा नेपालले जोर्डनविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।
घरेलु टोलीका आक्रमक प्रहार गोलकिपर किरण चेम्जोङले बिफल पारेपछि नेपालले पहिलो हाफमा जोर्डनविरुद्ध गोलरहित बराबरी खेलेको हो।
अम्मान अन्तर्रा्ष्ट्रिय रंगशालामा सुरुआती दबाबमा परेपनि नेपालले सम्हालिएको प्रदर्शन गरिरहेको छ। नेपालले खेल सुरु भएको २ मिनेटमा नै घरेलु टोलीको आक्रमक प्रहार बचाएको थियो। २२ औं मिनेटमा पाएको फ्रि-किक नेपालले सदुपयोग गर्न सकेन्।
दुबै टोली आक्रमक खेल प्रदर्शन गरिरहेका छन्। नेपालका प्रशिक्षक जोहान कालिनले बिमल घर्तिमगरलाई आक्रमणको जिम्मेवारी दिएका छन्। गोलकिपरमा कप्तान किरण चेम्जोङ रहँदा डिफेन्डरमा अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , सुमन अर्याल छन्।
मिडफिल्डर रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रबि पासवान छन्।नेपाल चौथो तथा अन्तिम अवे खेलमा दोस्रो जितको लक्ष्यमा रहँदा जोर्डन घरेलु मैदानमा उत्कृष्ट नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ।
गत बिहिबार अष्ट्रेलियासँग हार ब्यहोरेसँगै जोर्डन पुगेको टोली विगतमा जोर्डनसँग रहेको इतिहास फेर्न चाहन्छ। २०११ मा भएको विश्वकप छनोटमा नेपाल जोर्डनसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो।
फिफा वरीयतामा जोर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ। छनोटअन्तर्गत समूहका दुई खेलमध्ये एक खेलमा बराबरी र एकमा जित निकालेको जोर्डन ३ अंक बटुल्ने रणनीतिमा रहँदा नेपाल अंक खोस्न चाहन्छ। समूह तालिकामा जोर्डन ४ अंकसहित तेस्रो स्थानमा छ। नेपाल ३ अंकसहित चौथो स्थानमा छ। नेपालले जोर्डनभन्दा एक खेल बढी खेलेको छ।