काठमाडौं — ‘ग्लोबल हंगर इन्डेक्स’मा नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले औंल्याएको छ।
कन्सर्न वर्ल्डवाइड र वेल्थुन्गरहिल्फले संयुक्त रुपमा तयार पारेर मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ। सो इन्डेक्समा ११७ मुलुक समावेश गरिएका छन्। प्रतिवेदनमा ४३ देशमा भोकमरीको अवस्था गम्भीर रहेको जनाइएको छ।
चाड, मडागास्कर, यमन र जाम्बियाको भोकमरीको तह उच्चदरमा अर्थात् ‘अलार्मिङ ’अवस्थामा रहेको र सेन्ट्रल अफ्रिकन रिपब्लिकको अवस्था त्यो भन्दा नराम्रो भएको पाइएको छ।
जलवायु परिवर्तनका कारण भोकमरीको अवस्था बढेको प्रतिवेदनमा उल्लेख छ। सो सूचीमा भारत १०२ नम्बरमा, पाकिस्तान ९४ मा, बंगलादेश ८८ र श्रीलंका ६६ औं स्थानमा पाइएका छन्।
सो सूचीमा बेलारुस, युक्रेन, टर्की, क्युबा, कुवेत जस्ता मुलुक माथिल्लो श्रेणीमा रहेको पाइएको छ। यो प्रतिवेदनलाई विभिन्न महत्वपूर्ण निकायले मान्यता दिँदै आएका छन्। (एजेन्सी)