एजेन्सी– युरोकप छनोट खेलमा इटालीले लेचेस्टाइनलाई फराकिलो अन्तरले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा पाहुना टोली इटालीले लेचेस्टाइनविरुद्ध ५–० को शानदार जित निकालेको हो।
आक्रामक प्रदर्शन गरेको इटालीले खेलको पहिलो हाफमा १ गोल मात्रै गरेको थियो। खेल शुरु भएको २ मिनेटमा नै इटालीका फेडरिको बर्नारडेस्चीले गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। एकपछि अर्को आक्रमण प्रयास गरेको इटालीले दोस्रो हाफको ७० औं मिनेटमा दोस्रो गोल गर्न सफल भएको थियो। एन्ड्रिय बेलोटीले सो गोल गरेका थिए।
त्यस्तै खेलमा हाबी हुने क्रममा इटालीका लागि एलेसियो रोमागनोलीले ७७ औं मिेनेटमा गोल गरेका थिए। यससँगै इटालीले खेलमा ३–० को अग्रता बनाएको थियो। इटालीको गोल गर्ने क्रम अझै रोकिएको थिएन। स्टेफन अल सरावेले इटालीको लागि ८२ औं मिनेटमा गोल गर्दै गोलको अग्रता बनाए। त्यस्तै एन्ड्रिउ बेलोटीले थप गरिएको समयमा व्यक्तिगत दोस्रो गोल गर्दा इटाली शानदार जित निकाल्न सफल भयो।
इटालीले यस अघि नै युरोपकमा स्थान सुरक्षित गरिसकेको छ। जितसँगै समुहमा अपराजित रहेको इटालीले ८ खेलबाट २४ अंक बटुलेको छ। शीर्षस्थानमा रहेको इटालीसँग पराजित लेचेस्टाइन अंक तालिकाको पुछरमा छ।