काठमाडौं — काठमाडौंमा सिन्की र गुन्द्रुक र कुखुराको मासुको मुल्य बराबर भएको पाइएको छ। अहिले ब्रोइलर कुखुराको मासुको भाउ घटेर गुन्द्रुककै भाउमा पाइन थालेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिँजो मंगलबार गुन्द्रुकको मूल्य प्रतिकिलो २८० थियो। हिँजो नै राष्ट्रिय कुखुरा बिक्री व्यवसायी महासंघले मंगलबारको लागि प्रति किलो ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य दुई सय ८० रुपैयाँ तोकेको छ।
चाडबाडमा काठमाडौं उपत्यकाबाट सर्वसाधारण बाहिरिएपछि कुखुराको मासुको माग घटेकोले मूल्य ह्वातै घटेको संघका अध्यक्ष जगतबहादुर बिसीले जानकारी दिए। त्यसका साथै दशैंको समयमा काठमाडौंमा रहेकाहरुले पनि कुकुराको साटो खसी, बोका र च्याङ्ग्राको मासु बढी खाने गरेकोले पनि कुखुराको मासुको मूल्य घटेको हो।
सामान्यतया दैनिक दुई देखि तीन लाख किलो कुखुराको मासुको बिक्रि हुने काठमाडौं उपत्यकामा अहिले डेढ लाख किलो मासु पनि बिक्री हुन मुस्किल छ।
कुखुरा उत्पादक किसानले जिउँदो कुखुरा प्रति किलो डेढ सय रुपैयाँमा बिक्रि गर्छन्। कालीमाटी तरकारी बजारका अनुसार जिरीको सागको मूल्य पनि कुखुराको मासुको मूल्य बराबर नै छ।
मंगलबारको मूल्यसूची अनुसार प्रतिकिलो २७० देखि २८० मा जिरीको साग बिक्री भइरहेको छ । आसपासका जिल्लामा कुखुराको उत्पादन राम्रो भएकोले आयातमा कमी नआए कुखुराको मासुको मूल्य थप घट्दै जाने अनुमान व्यवसायीले गरेका छन्।