काठमाडौं — विमानस्थलमा तोडफोड गर्ने एनआरएनका प्रतिनिधि रमेश थापा थुनामुक्त भएका छन्। उनलाई अध्यागमन विभागले ५० हजार धरौटिमा रिहा गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार तोडफोड गरेपछि उनी पक्राउ परेका थिए। रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको हो।
विभागका महानिर्देशक ईश्वरराज पौडेलेले थापालाई जरिवाना तिराइएको पुष्टि गरेका छन्। पौडेलका अनुसार ‘उनलाई उक्साउने र अश्लील व्यवहार गर्ने अर्को एक जना महिलालाई पनि जरिवाना तिराएका छौं।’उनलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। थापालाई उक्साए पनि तोडफोडमा उत्रिएको नदेखिएकाले उनी जोगिएकी थिइन्।
विभागका अनुसार ती महिला थापासँगै आएकी उषाकिरण वरिया हुन्। थापासहित पाँच जना अष्ट्रेलियाबाट नेपाल आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए। तर, लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सीसा फुटाएको अधिकारहीहरुको भनाइ छ।
घटनालगत्तै अध्यागमनका कर्मचारीले प्रहरी बोलाए र थापा पक्राउ परे। सीसीटिभी फुटेजमा थापाले मात्र सिसा फुटाएको देखिएकाले उनीमात्रै पक्राउ परेका थिए। यसअघि काठमाडौंबाट सिंगापुर जाँदै गर्दा अत्यधिक मदिरा सेवन गरेको भन्दै सिल्क एयरका क्रु मेम्बरले एनआरएनएका अध्यक्ष भवन भट्टलाई र सनत न्यौपानेलाई जहाजबाट बाहिर निकालिदिएका थिए ।