काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हेर्न र सुन्न नसकिने गरि लेखिन र बोलिन थालिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस किसिमको व्यवहार नेपालीपन नभएको बताए।
‘सामाजिक सञ्जालका नाममा हेर्न, सुन्न नसक्ने गरि लेखिन र बोल्न थालियो, त्यो नेपाली पन हैन’, बुधबार काठमाडौँमा आयोजित नेकपाको चियापान समारोहमा ओलीले भने। ओलीले कार्यक्रममा आफूले राजनीतिको कुरा गर्न नचाहेको बताउँदै चाडपर्वको व्याख्यामा बढी समय खर्चे।
‘प्रचण्डले राजनीतिक कुरा गर्नु भो। म राजनीतिक कुरा भन्ने छैन। हाम्रो समाज विशिस्ट छ। एकतामा आधारित छ। कहिलेकाहीँ विविधतालाई दुरुपयोग गर्ने पनि देखिए। तर अरु देशलाई जस्तो हल्लाउन सक्दैनन्। राज्य बलियो नभएका बेला सामाजिक व्यवस्था खल्बलाउने काम भयो। दसैँमा आशिर्वाद लिने र दिने काम हुनैपर्छ। त्यो विशेषताको सम्मान गर्नु पर्छ’, ओलीले भने।
उनले यस्ता अनेक विशेषता बोकेका धेरै पर्व नेपाली समाजमा रहेको बताए। ‘सबैको स्वास्थ राम्रो होस्। सबै खुशी हुन्। कसैलाई अत्याचार नहोस्। एकताको पर्व धुमधामका साथ मनाउनुपर्छ। विकासको गतिमा जान यसले सहयोग पुर्याउँछ’, ओलीले भने।
उनले विकास भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न सुझाव दिए।कतिले हल्ला गर्छन् केही भएन। आँखा बन्द होइन खोलेर हेर्नुस्। विकासमा हामी अघि हुनेछौँ। साधारण मानिसको बैंक खाता छ। पोखरा र लुम्बिनीमा एयरपोर्ट बनेका छ्न्। हिजो मानिसले मजाक गरेको कुरा आज वास्तविकतामा आइसकेको छ।
अब एकताबद्ध भएर अघि जाने हो। हाम्रो नारा पुरा गर्छौँ। हल्लाका पछि नजानु। हल्ला हल्ला हो। हल्लामै विकास अघि जानेछ। कसैले हल्ला गर्दैमा हामी रोकिनु बेकार हो। अनुचित प्रतिस्पर्धा गर्नु पर्ने आवस्यकता छैन। निर्वाचनको परिणाम आफ्नो पक्षमा आएन भनेर वातावरण बिथोल्न मिल्दैन’, ओलीले भने।
ओलीभन्दा अगाडि बोलेका प्रचण्डले चिनियाँ राष्ट्रपति सीको भ्रमण सफल भएको समझदारी र सहमति उत्कृष्ट भएको लगायत विषयमा जोड दिँदै आफ्ना भनाई राखेका थिए।