जनकपुरधाम — जनकपुरधामस्थित सहयोगी विकास बैंक लिमिटेड संचालक समितिका सदस्य दिपेन्द्र कुमार यादव दिपु लाई प्रहरीले पक्राउ गरेको छ। किर्ते जालसाजी ठगी गरेको आरोपमा फरार नेकपाका नेता समेत रहेका यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
साहलाई जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निजी निवासबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। यादवले जनकपुरधाम १० का लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता फिर्ता नगरेका कारण जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोग धनुषा प्रहरीले पक्राउ गरेको हो।
८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादव कहाँ धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए। केहि वर्षभित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए।
पीडित रौनियारको बर्दिवासस्थित रहेको ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको स्रोतको दाबी छ। जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पूर्जी जारी गरेको थियो। तर उनी फरार रहेका थिए।
यादव धनुषाको क्षेत्र नं। ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका थिए।