एजेन्सी– यतिबेला सिंगो बलिउड एकातिर र नायिका कंगना रनावत अर्कोतिर छन्। बलिउडका धेरै कलाकारसँग कंगनाको भिडन्त चलिरहेको छ। तर, यसले उनलाई खासै फरक परेको छैन। यतिमात्र कहाँ होर, कंगनाको विरुद्ध बलिउडकर्मीमा ठूलै गुट पनि छ।
कंगना अब आफ्नै फिल्म प्रोडक्शन हाउस खोल्दै छन्। कंगनाले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, उनको प्रोडक्शन हाउस जनवरीबाट सुरु हुँदैछ। उनले आफ्नो प्रोडक्शन हाउसबाट बन्ने चलचित्रलाई सानो बजेटमा बनाउने बताएकी छन्। उनले भनिन्–‘यदि, जज मेन्टल हे क्या’मा म नभएको भए, यो ब्लकबस्टर चलचित्र हुन्थ्यो। किनकी, मविना यो चलचित्रको बजेट १० करोड हुन्थ्यो।’
कंगनाले अगाडि भनिन्–‘म केही साना बजेटका चलचित्रमा काम गर्न चाहन्छु। हुनत, म ठूलो बजेटको चलचित्रमा पनि काम गर्छु।’ कंगनाले आफूले बनाउने चलचित्रमा आफै अभिनय नगर्ने समेत घोषणा गरेकी छिन्। उनले, मिड डेसँग भनेकी छिन्–‘म आफैले बनाउने चलचित्रमा काम गर्दिनँ। किनकी, भारतमा थुप्रै प्रतिभाहरु छन्। म उनीहरुलाई मसँग काम गराउनेछु र उनीहरुलाई प्रशिक्षण पनि दिनेछु।’ उनको यो अठोटलाई सबैले सलाम गर्नैपर्छ।
कंगनाले आफ्नो प्रोडक्शनमा बन्ने चलचित्रका लागि थुप्रै स्क्रिप्ट आएको समेत सुनाएकी छन्। उनका अनुसार, शक्तिशाली कथा कहिले पनि असफल हुँदैन।