काठमाडौं — यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामा गएको स्वीकार गरेका छन्। कोठमा गएता पनि उनीमाथी कुनै प्रकारको दुर्व्यवहार नगरेको बताएका छन्।
तर, रोशनीले प्रहरीमा आफूमाथि महराले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन्। महराले प्रहरीसँगको बयानमा आफूले रक्सीको बोतल समेत नलगेको दाबी गरेका छन्।
अदालतबाट म्याद लिएर प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको छ। महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो। यसअघि महराले आफू असोज १२ गते रोशनीको कोठामा नगएको दाबी गर्दै आएका थिए ।
महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए। महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले डिस्चार्ज नगरेकाले उनलाई अदालतबाट अस्पतालमै फर्काइएको छ।
महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिएका थिए।
महरा बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेका थिए । प्रहरीले रोशनीको कोठाबाट महराको भनिएको चश्मा, जुत्ताको सोल लगायतका सामग्री बरामद गरेर फरेन्सिक चेकजाँचका लागि पठाएको छ। यस्तै रोशनीको शरीरमा लागेको चोटको समेत परीक्षण गरिएको छ । परीक्षणका क्रममा रोशनीको शरीरमा देखिएको चोट अन्य व्यक्तिबाट लागेको पाइएको छ।
रोशनीले प्रहरीमा महराले दुर्व्यवहार गरेको उजुरी दिए पनि सामाजिक सञ्जालमा भने महरा निर्दोष भनेर पत्र, विज्ञप्ति जारी गर्दै आएकी छन् । तर, उनले दाबी गरेका पत्रहरु उनकै आधिकारिक हुन् भन्ने पुष्टि हुन सकेको छैन।