एजेन्सी– जुनसकै कलाकारका लागि डेब्यू चलचित्र विशेष हुन्छ । विशेष यसकारण कि, पहिलो चलचित्र नै चलिदियो वा दर्शकले काम मन पराइदिए भने आगामी बाटो सहज हुन्छ, पाछाडि फर्केर हेर्न पर्दैन। कहिलेकाही अपेक्षा गरिएका कलाकार डेब्यूमा असफल हुन्छन्। तर, दर्शक र मिडियाले नै खासै अपेक्षा नगरेका कलाकार चम्किन्छन्।
नेपाली चलचित्रमा गतबर्ष रिलिज भएका २ चलचित्रबाट डेब्यू गरेका ४ नायिकामा पनि यही कुरा लागू हुन्छ। चलचित्र ‘रणवीर’बाट एकसाथ डेब्यू गरेका थिए सुवेच्छा खड्का र सुपुष्पा भट्टले। यो चलचित्रको प्रचार सामाग्री बाहिरिँदा धेरैको आँखा सुवेच्छामा थियो। सुवेच्छा चलचित्र क्षेत्रमा चम्किन्छिन् भन्ने पनि अड्कल लगाइएको थियो। तर, चलचित्र रिलिज भएपछि अधिकांशले सुपुष्पाको प्रशंसा गरे।
यसैले पनि होला, सुपुष्पा अहिले निकै चम्किरहेकी छिन्। उनले काम गरेको चलचित्र ‘छ माया छपक्कै’ बक्स अफिसमा चम्किएको छ। यसले उनलाई पक्कै फाइदा दिनेछ। अर्कोतिर, उनी चलचित्र ‘चपली हाइट ३’मा पनि काम गर्दैछिन्।
चलचित्र ‘क्याप्टेन’बाट नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभी भित्रिएका थिए। निर्माणपक्षले दुई नायिकालाई साइन गर्दा पनि प्रियंकामाथि आशा धेरै थियो। चलचित्रको प्रचार सामाग्री सार्वजनिक हुँदा धेरैको आँखा प्रियंकामाथि नै थियो।
तर, चलचित्र रिलिज भैसकेपछि उपासनाको भाग्य चम्कियो। उनको कामको तारिफ भयो । उनले अभिनय गरेको दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि सुपरहिट भैसकेको छ। यसैले, उपासनालाई चलचित्र क्षेत्रको उदाउँदी नायिकाको रुपमा हेर्न थालिएको छ। सुवेच्छा र प्रियंकालाई भने दोश्रो चलचित्रका लागि नै समस्या परेको छ।