काठमाडौं– वुमेन्स् च्याम्पियन्स टी–२० क्रिकेट लिग प्रतियोगितामा चितवन राइनोज विजयी भएको छ। प्रतियोगिताको पहिलो खेलमा चितवनले क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो।
बुधबार टियु क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्दै चितवनलाई ९३ रनको लक्ष्य दिएको थियो। चितवनले १८.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै प्रतियोगितामा शुखद् शुरुवात गरेको छ।
चितवनको लागि सुमन खतिवडाले २९ रनको योगदान गरिन् भने प्यारी चौधरी २७ बलमा ३ चौका प्रहार गर्दै २४ रन बनाइन्। काठमाडौंका बलर इश्वरी बिष्टले २ विकेट लिइन। उनले ४ ओभरमा १५ रन खर्चिएकी थिइन्।
खेलको राम्रो शुरुवात गरेको काठमाडौंले २० ओभरमा मात्र ९२ रन जोडेको थियो। काठमाडौको लागि ओपनर रश्मी शर्मा चौलागाईँले ३४ रन जोडिन्। त्यस्तै सरस्वती कुमारीले १५ रनको योगदान दिएकी थिइन्। । चितवनको लागि सन्तोषी चौधरीले ३ विकेट लिइन। उनले ४ ओभरमा १४ रन खर्चिएकी हुन्। काठमाडौंलाई सानो योगफलमा रोक्न रेखा रावल,कविता गौतमले समान २–२ विकेट लिए।
अर्को खेलमा विहीबार काठमाडौंले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ भने शुक्रबार चितवनले र ललितपुर फाल्कोन्ससँग खेल्नेछ।