काठमाडौं– सुशिल श्रेष्ठलाई चलचित्र निर्माता सुनिल रावलको फोन आयो। फोनमा सुनिलले सुशिललाई ‘हिरो’ बन्न अफर गरे। शुरुमा उनलाई यो कुरा पत्ताउनै गाह्रो भयो,सुशिल एकछिन अकमक्क परे। हिरो बन्ने सपना बोकेका सुशिललाई अप्रत्यासित रुपमा हिरो बन्ने अफर आएको थियो। यो कुराले उनको खुसीको सिमा थिएन।
सुशिलले सुनिललाई भेटे। सुशिलले सफल चलचित्र ’होस्टेल’को सिक्वेल चलचित्र ‘होस्टेल रिटन्र्स’मा काम गर्ने अवसर पाए। सफल चलचित्रको सिक्वेलमा काम गर्ने भएपछि सुशिल पनि दंग थिए। चलचित्र ‘होस्टेल रिटन्स’बाट सुशिलको धेरै चर्चा भयो। उनको लुक्स र सुगठित शरीरको निकै प्रशंसा भएको थियो। सुशिललाई यो चलचित्रबाट सम्भावना बोकेको नायकको रुपमा हेरिएको थियो।
सुशिल आफूलाई यो चलचित्रले सोचेभन्दा बढी सफलता दिएको बताउँछन्। भने– ‘सोचेको थिइन कि यति धेरै सफल हुन्छु भनेर। उक्त चलचित्रले कहाँको मान्छेलाई कहाँ पुर्याइदियो।’ सुशिल दंग थिए। यही शिलशिलामा उनले दोस्रो चलचित्र पनि पाइहाले। सुनिल रावलकै ‘सायद २’। पहिलो चलचित्रको भन्दा राम्रो गर्नुपर्ने चुनौती बोकेर सुशिल अभिनय सिक्न तिर लागे। केही समय अभिनय सिके र ‘सायद २’ मा काम गरे।
रिलिजको हिसाबमा ‘कारखाना’ उनको दोस्रो चलचित्र बन्यो। तर, यसै चलचित्रले उनलाई नराम्रोसँग पछार्यो। आशा ‘सायद २’ मा अड्किएको थियो। तर, उक्त चलचित्रबाट पनि सुशिलले सफलता पाएनन्। लगातार दुई चलचित्र असफल भएपछि सुशिल निकै दुःखी भए। उनका लागि करिअर नै सकिएको हो कि भन्ने जस्तो भयो। चारैतिर, असफलताले घेर्दा उनलाई चलचित्र करिअर अब के हुन्छ भन्ने छटपटी थियो। चलचित्र क्षेत्र नै आफ्नो लागि होइन भन्ने सोच उनको दिमागमा आइसकेको थियो। चलचित्रमा काम गर्ने मन मरिसकेको थियो।
सुशिल भन्छन्–‘बिस्तारै भर्याङ चडेको भए ओर्लिन सजिलो हुन्थ्यो होला। म त पहिलो चलचित्रबाट नै माथि पुगेको थिएँ । एक्कासी धरहराबाट खसे जस्तो भयो । गाली सुनी सुनी काम गर्ने मन थिएन।’ त्यसै समय सुशिललाई नयाँ चलचिबाट अफर आयो। चिनजानको व्यक्ति साहिल खानले उनलाई चलचित्र ’लभ डायरिज’का लागि अफर गरेका थिए। सुरुमा उनले नकारे। तर, साहिल रिसाएपछि चलचित्रको स्क्रिप्ट पढे र काम गर्न तयार भए। सुशिल भन्छन्–‘केही समय काम गर्दिन भनेको उहाँहरु रिसाउनु भयो। त्यसैले काम गरे।’
उक्त चलचित्रको सुटिङ सकेर काठमाण्डौं फर्किने बित्तिकै सुशिललाई अर्को फोन आयो। फोन थियो, ‘बादशाह जुट’ निर्देशक जोनी सिंंहको। उनले सुशिललाई चलचित्रका लागि अफर गरे। सुशिलले स्क्रिप्ट पढे। चित्त बुझ्यो र काम गर्न तयार भए।
सुशिल भन्छन्–‘काम गर्दिन भनेर बसेको मलाई ‘लभ डायरिज’ले फेरि चलचित्रको किरा शरीरमा छिराइदिसकेको थियो। त्यही माथि ‘बादशाह जुट’को स्क्रिप्टमा आफूलाई बिल्कुलै भिन्न अवतारमा प्रस्तुत गर्ने मौका पाएको थिएँ। त्यसैले पनि काम गर्न तयार भएँ।’
सुशिल अभिनित ‘बादशाह जुट’ कात्तिकको १५ गतेबाट रिलिज हुदैँछ। चलचित्रलाई लिएर सुशिल निकै आशावादी छन्। चलचित्रमा निकै मिहिनेत गरेको सुशिल बताउँछन्। उनले भने–‘मलाई चलचित्रमा शरीर देखाउन धेरै अफरहरु आए। तर, यो चलचित्रले भने मलाई निकै साधारण तरिकामा प्रस्तुत गरेको छ। यो चलचित्रको लागि मैले १२ केजी तौल पनि घटाएको छु।’
चलचित्रमा सुशिलले पत्रकारको भूमिका निर्वाह गरेका छन्। भूमिकाबारे सुशिल भन्छन्–‘एउटा यस्तो पत्रकार जो समचारको खोजीमा छ। जसरी भएपनि ब्रेकिङ न्युज दिनुछ। राम्रो काम गरेर सबैमाझ चिनिनु छ। चलचित्रमा मेरो भूमिका यस्तै नै हो।’ चलचित्र सफल वा असफल हुनुमा कलाकारको मात्र हात हुँदैन। तर, अब भने चलचित्र असफल भएपनि निरन्तर रुपमा यही क्षेत्रमा नै काम गर्ने सुशिलको योजना छ।
उनी भन्छन्–‘दुई चलचित्र रिलिजको तयारीमा छन्। यी दुई चलचित्रबाट दर्शकको प्रतिक्रिया के हुन्छ त्यो बुझ्छु। धेरै प्रतिक्रिया राम्रो आयो भने निरन्तर काम गर्नेछु। यदि धेरै नराम्रो आयो भने दर्शकले मन नपराई–नपराई काम गर्ने मन छैन्।’ लगातार नयाँ अफर आईरहनु तर काम सफल भएन भने गराईको मज्जा नहुने उनले बताए।