काठमाडौं _ सरकारले शक्तिशाली देशका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्याउने भएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि संयुक्त राज्य अमेरिका र रुसका राष्ट्रपतिलाई समेत नेपाल भ्रमणमा ल्याउने गरी सरकारले पहल थालेको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्तो दिने तयारी भएको खुलासा गरेका छन्।
बुधबार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा उनले भने, ‘निकट भविष्यमा ट्रम्प र पुटिन पनि नेपाल आउछन्, त्यसकालागि हामीले पहल थालिसकेका छौं।’
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले देशलाई नयाँ उचाईमा पुर्याएको दाबी गरे। कुटनीतिक रुपमा सरकार सफल भएको भन्दै नेपालमा विश्वका शक्तिशाली देशका नेताहरु भ्रमणमा आउने बताए।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएलगत्तै नेपालप्रति अन्तर्राष्टिय चासो बढेको छ। अमेरिकाको नेपालमा चासो बढिसकेको छ। तर, अमेरिकी उच्च अधिकारीको भ्रमणको सम्भावना न्यून छ।
रुससँग नेपालको लामो कुटनीतिक सम्बन्ध रहेपनि उच्च तहमा भ्रमण नभएको दशकौं भइसकेको छ। यस अवस्थामा विश्वका शक्तिशाली नेतामध्येका रुसी राष्ट्रपति पुटिनको भ्रमणको सम्भावना पनि न्युन छ।