काठमाडौं _ चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की_महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एक_एक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ। झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतमा सडक हस्तान्तरण गर्ने भएको छ।
पहिलो चरणको विस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ। आठ लेनको सडकमा कोटेश्वर_कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए। पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ। उनले भने, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो।”
बालाजु चोक र महाराजगञ्ज चोकमा गरी दुई स्थानमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ। आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ। महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ। यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए। बालाजुमा निर्माण हुने ‘अण्डरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ।
पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक_एक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए। जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ। सडक बिस्तारका लागि चीन सरकारलाई हस्तान्तरण गर्न सरकारले अहिले सडकको अधिकार क्षेत्र खाली गराउन शुरु गरेको प्रमुख थापाले बताए।
यस सडकमा रुख काट्ने, पोल सार्नेलगायतका तयारी भइरहेको छ। केही महीनामै काम सम्पन्न गर्ने उनले बताए। सम्पूर्ण तयारी सकिए पनि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ। चीन सरकारले झण्डै पाँच_छ महीना तयारीको काम गरेर निर्माण शुरु गर्ने उनले बताए।
सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ। स्वयम्भू, ठूलो र्भयाङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ। स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत सार्नुपर्ने उनले बताए।
पहिलो चरणमा समस्या देखिएका कुरामा सुधार भए पनि अरू कुरामा दोस्रो चरण पनि झण्डै पहिलो जस्तै हुने विभागले जनाएको छ। मुख्य सडकबीचमा रहनेछ भने त्यसको दुवैतर्फ दुई_दुई लेनको सहायक सडक हुनेछ। सहायक सडकमा प्रवेश गर्नका लागि सडकको दुवैतर्फ एक_एक लेनको सर्भिस ट्र्याक रहने गरी डिजाइन भएको छ। सवारी चालकले पहिले सर्भिस ट्र्याकबाट सहायक सडकमा प्रवेश गरेर मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन्। त्यस्तै सहायक सडकबाट एउटा चोकमा पुगेर मात्रै मुख्य सडक वा मुख्य सडकबाट सहायक सडक गर्न पाउने गरी डिजाइन भइरहेको छ। ( रासस)