कठमाडौं _ भोटेकोसी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ। सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन्।
‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने। आभास अनुदानको दुई लाख लिँदासमेत घर बनाउन हम्मे परेको उनले सुनाए।
दुई रोपनी खेतबारी मात्रै रहेका विक सिकर्मी काम गर्छन्। पत्नी, छोराछोरीसहित चार जनाको पारिवार पाल्नु छ। ‘नुनतेल, मरमसलामै मासिक ५ हजारभन्दा बढी खर्च हुन्छ, कमाएको रकम घरमै सकिन्छ, कसरी ऋण तिर्नु हजुर,’ उनले भने। भोटेकोसी–१, पाउँगुम्बाका कामी शेर्पा बैंक र सहकारीले नपत्याएपछि साहुसँग वार्षिक २४ प्रतिशत ब्याजदरमा चार लाख ऋण लिन बाध्य भए। यस्तै छ यहाँका भूकम्पपीडितहरुको अवस्था छ।
बैंक र सहकारीले नपत्याएपछि कतिपयले गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण लिएर घर ठड्याउँदै छन्। अब उनीहरुलाई ऋण कसरी तिर्ने भन्ने चिन्ता छ। उनीहरुले सरकारले दिएको अनुदान घर बनाउन अपर्याप्त भएको गुनासो गरेका छन्। यो समाचार कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन्।