काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेल चीन प्रस्थान गरेका छन्। ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुन मन्त्री पोखरेल विहिवार चीन प्रस्थान गरेका हुन्।
रक्षामन्त्री पोखरेललाई उक्त कार्यक्रममा विशेष अतिथीको रुपमा चीनले आमन्त्रण गरेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिएका छन्। उपप्रधानमन्त्री समेत रहेका पोखरेल त्यहाबाट बेइजिङ समेत जाने कार्यक्रम छ।
चीनको हुवेइ प्रान्तको उहानमा हुने प्रतियोगितामा नेपाली सेना पहिलो पटक सहभागी भएको छ। उक्त प्रतियोगिता कार्तिक १ गतेबाट सुरु हुनेछ। सेनाको सहभागितलाई हौसला दिन पनि रक्षामन्त्री पोखरेल उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन्।
नेपाली सेनाले यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागिएको औपचारिक जानकारी दिएको थियो।
सो प्रतियोगितामा नेपाली सेनाले पनि पहिलो पटक भाग लिन लागेको छ। सेनाका महासेनानी शशीकिरण रायमाझीकाअनुसार खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मुख्य उद्देश्यका साथ अन्तर्रा्िष्ट्रय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेलहरु प्रर्दशन हुनेछन्। जसमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडीहरु सहभागी हुनेछन्। प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिदैंछ।