काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगितामा क्याट क्विन्स काठमाडौं विजयी भएको छ। काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले हराएको हो।
पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले हारेको काठमाडौंको यो पहिलो जित हो। काठमाडौंको लागि कप्तान रुविना क्षेत्रीले ६७ बलमा ८३ रनको आक्रामक पारी खेलिन्।
टस हारेर ब्याटिङ गरेको काठमाडौंले पोखरालाई १ सय ५३ रनको विजयी लक्ष्य दिएको थियो। विशाल योगफल पछ्याएको पोखरा १६.५ ओभरमा ७० रनमा अल आउट भयो। पोखराका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ रन जोडिन्। त्यस्तै विन्दु रावलले १३ र रुबी पोदर ९ रन बनाइन्। पोखरालाई सानो योगफलमा रोक्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी वेगमले समान २ विकेट लिए।
टियु मैदानमा टस हारेर ब्याटिङ काडमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रनको ठूलो योगफल बनायो। काठमाडौंकी कप्तान रुविना क्षेत्रीले १४ चौका र २ छक्का प्रहार गर्दै ८३ रनको अविजित पारी खेलिन्। रुविना नेपाली महिला फे्रन्चाइज टी–२० लिगमा अर्ध शतक प्रहार गर्ने पहिलो खेलाडी बनिन्। पोखराकी अनुराधा चौधरीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएकी थिइन्।