एजेन्सी– अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सी फुटबलमा नयाँ नयाँ किर्तिमान रचिरहेका छन्। स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीलाई अर्कै दुनियाँबाट आएको खेलाडी भनी विश्लेषण गर्नेहरुको पनि कमी छैन।
खेल मैदानमा मेस्सीले देखाउने खेल कौशलले सबैको ध्यान केन्द्रित हुन्छ। फुटबल जगतमा सर्वोच्च स्थान बनाईसकेका मेस्सी थुप्रै रेकर्डहरु भङ्ग गरिरहेका छन्। किर्तिमान तोड्नकै लागि बन्छ भन्ने भनाइलाई मेस्सीले खेलबाटै प्रमाणित गरिरहेका छन्।
जारी सिजन शुरुहुनु पुर्व घाइते भएका उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। खेलमा आफ्नो लय समात्न प्रयास गरिरहेका मेस्सीले फुटबलका लेजेन्ड मानिने ब्राजिलियन पेलेको रेकर्डलाई तोड्न सक्ने अनुमान गरिएको छ। एक क्लबका लागि सबैभन्दा बढी गोल गर्ने रेकर्ड अहिले पेलेको नाममा छ। उनले ब्राजिलको क्लब सान्तोषका लागि ६ सय ४३ गोल गरेका थिए। अहिले पेलेको उक्त रेकर्ड मेस्सीका कारण धरापमा परेको छ। पेलेको रेकर्ड खोस्न सक्ने हैसियत अहिले मेस्सीमा मात्रै छ।
पहिलेको सिजनजस्तै मेस्सी लयमा फर्किएमा यसै सिनज पेलेलाइ पछार्ने छन्। मेस्सीले बार्सिलोनाका लागि अहिलेसम्म ६ सय ४ गोल गरिसकेका छन्। सामान्य अवस्थामा मेस्सी एक सिजनमा ४० भन्दा बढी गोल गर्ने क्षमता राख्छन्। सिजन २०१९–२० मा उनले ४० गोलमात्रै गरेमा पनि फुटबलको अर्को किर्तिमान आफ्नो नाममा लेखाउन सक्छन्।