काठमाडौं– नेपालमा खेलकुदको अवस्था त्यति राम्राे मानिँदैन। खेल खेलेर खेलाडीले आफ्नो पेट पनि पाल्न मुस्किल हुन्छ भन्नेहरुको कमी छैन नेपालमा। सरकारी निकायले खेलकुदमा देखाएको उदारता र खेलाडीहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्ने हो भने नेपालमा खेल खेल्नु चुनौतीपूर्ण मानिन्छ।
परिवारको एक जिम्मेवार सदस्य देशको लागि खेल्दै गर्दा परिवारको आवश्यकता पुरा गर्न सक्दैन भने खेल जीवन त्याग्न बाध्य हुनुपर्छ। तर पछिल्लो अवस्था अलिक भिन्न बन्न थालेको छ। खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं प्रतिभा र केही गर्छु भन्ने तीव्र इच्छा भएको मानिस कहिल्यै पनि ओझेलमा पर्दैन भन्ने कुरा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्रमाणित गरिसकेका छन्।
जुनसुकै कुनामा भएपनि प्रतिभा लुक्दैन। कुनै न कुनै रूपमा प्रतिभा सबैकाे सामु आउँछ नै! क्रिकेट जगतमा नेपालले आफ्नो पहिचान बनाउँदै गर्दाको स्थितिमा उदाएका सन्दीपले अन्तराष्ट्रिय क्रिकेटमा आफूलाई परिचित गराईसकेका छन्।
विश्व क्रिकेट जगतमा ठूला मानिने सबैखाले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमा सन्दीपले सहभागिता मात्र जनाएनन् आफूलाई अब्बल पनि साबित गरिसकेका छन्। उनी क्रिकेट खेलबाट नै आर्थिक रुपमा बलियो बनिसकेका छन्। व्यवसाय गर्ने मानिसले पैसा मात्रै कमाउलान् तर नाम, दाम र प्रतिष्ठा कमाउन खेलाडी बनेर उत्कृष्ट प्रदर्शन गरे पुग्छ। खेलाडी बन्न नेपाललजस्तो देशमा ठूलै सङ्घर्ष गर्नुपर्ला तर सङ्घर्षबाट मिलेको सफलताले ठूलै आनन्द पनि त देला नी!
हो त्यहि क्रिकेट खेलेर सन्दीप लामिछाने करोडपति बनिसकेका छन्। सन्दीपले इन्डियन प्रिमियर लिग(आइपीएल) बाट अन्तराष्ट्रिय फ्रेन्चाइस् लिगमा खेल्न शुरु गरेका थिए। उनले आइपीएल खेलेबाफतर ३२ लाख नेपाली रुपैंया पाएका थिए। आइपीएलमा उनको प्रदर्शनले विश्वको ध्यान उनीतिर केन्द्रित भयो।
त्यसपश्चात् उनले क्यारेबियन प्रिमियर लिग खेले। त्यस्तै बिग ब्यास लिग तथा पाकिस्तान सुपर लिग, टी–१० लिग, जी–२० लिग हुँदै द हन्ड्रेडमा उनी एक करोड ४३ लाख नेपाली रुपैँयामा बर्मिङ्घम फिनिक्समा अनुबन्धित भए। त्यसबाहेक उनले विभिन्न कम्पनीको ब्रान्ड अम्ब्यास्याडरदेखि विज्ञापनबाट समेत राम्रै कमाई गरिरहेका छन्। उनले क्रिकेटबाट नामसँगै राम्रो आम्दानी पनि गरे। उनले खेल खेलेरै कमाएकाे पैसाबाट बुढानिलकण्ठमा आलिसान घर किनिसकेका छन्।
नेपाली क्रिकेटबाट सन्दीपले मारेको छलाङले धेरै नेपाली युवालाई क्रिकेटतर्फ आकर्षित गरेको छ। खेल खेलेर जिवन चल्दैन भन्नेलाई गतिलो झापड मिलेको छ। नेपाली अभिभावकमा आफ्नो सन्तान क्रिकेट खेलोस भन्ने चाहाना जागेको छ। नेपाली समाजले खेलकुदलाई हेर्ने दृष्टिमा परिवर्तन भएको छ।
कलिलो उमेरमा नै राष्ट्रिय टोलीमा स्थान बनाएका सन्दीप नेपालमा क्रिकेट खेल्छु भन्नेलाई प्रेरणाको स्रोत बनेका छन्। उनकै कारण नेपालमा खेलकुुद क्षेत्रमा नाम र प्रतिष्ठासँगै पैसा पनि हुन्छ भन्ने सन्देश प्रवाह भएको छ।