काठमाडौं– नायिका केकी अधिकारीको अनुहारमा हिजोआज देखिएको खुशीले उनलाई नयाँ उचाईमा पु¥याएको छ। केकीको अनुहारमा छल्किएको खुशी उनका लागि विशेष छ। शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ बक्स अफिसमा चम्किएपछि केकी अधिकारीका लागि ठूलो सफलता मिलेको छ।
हुनत, यो चलचित्रमा केकी अधिकारी नभएको भए पनि यसको व्यापारमा खासै फरक पर्ने थियो वा थिएन त्यसको अड्कल गर्न नसकिएला। तर, चलचित्रको व्यापारिक सफलताले मात्र होइन, आफूले पाएको दमदार भूमिकामा दमदार अभिनयका कारण पनि केकी अधिकारी खुशी हुने ठाउँ छ।
करिअरमा लामो समयदेखि एउटा पनि व्यापारिक हिट चलचित्र दिन नसकेकी नायिकाले यसपटक भने दिपकराज गिरी र उनको टिमसँग सहकार्य गर्दा ठूलै सफलताको महशुश गरिरहेकी छिन्।चलचित्रमा नर्सको भूमिकामा देखिएपनि केकीको सोचमा विद्रोह देखिन्छ। उनको विद्रोहमा राजनीति प्रतिको वितृष्णा छ। तर, उनी परिवर्तनका लागि जनस्तरबाट नै विद्रोह आवश्यक छ भन्ने सोच राख्छिन्। चलचित्रमा उनले कतै प्रेमिका बनेर रोमान्स गरेकी छिन् भने कतै बहिनी बनेर आफ्नै दाजुसँग विद्रोह पनि गरेकी छिन्।
केकीलाई दिइएको भूमिकामा उनले राम्रै तरिकाले निर्वाह गरेकी छिन्। हुनत, ‘छ माया छपक्कै’ ले केकीको आगामी करिअर छपक्कै फरक पार्छ भन्ने त होइन। यसका लागि केकीले आफ्नो गुम्दै गएको क्रेजलाई बचाउन आवश्यक छ। तर, करिअरमा उनलाई लाग्दै आएको असफल नायिकाको ट्याग भने अब एक हदसम्म हटेको छ।