वासिङ्टन,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गर्दै एक फोटो ट्वीटरमा पोस्ट गरेका थिए। उक्त फोटो अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीसँग सम्बन्धीत छ।
ट्रम्पले ‘अत्तालिएकी न्यान्सीेले सन्तुलन गुमाइन्’ भन्दै ट्वीटरमा फोटो पोस्ट गरेका छन्। उक्त फोटोमा पेलोसीले ट्रम्पलाई औंला ठड्याएकी छिन्। डेमोक्रेटिक पार्टीका नेता चंक स्कुमरका अनुसार ट्रम्पले पेलोसीलाई तेस्रो दर्जाकी राजनीतिज्ञ भनेपछि पेलोसी रिसाएकी थिइन्।
सोही क्रममा पेलोसीले ट्रम्पलाई औंला ठड्याएकी थिइन्।
स्कुमरले भने,‘ट्रम्पले सभामुखलाई अपमान गरिरहेका थिए। उनी शान्त थिइन्। तर जब ट्रम्पले पेलोसीलाई तेस्रो दर्जाको राजनीतिज्ञ भने पेलोसी रुष्ट बनिन्।’
बुधबार ट्रम्पले पेलोसी बिरामी व्यक्ति भन्दै ट्वीट गरेका थिए। हालैका दिनमा ट्रम्प र पेलोसीबीच तनावको अवस्था छ। डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको छानविन गर्न ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिएको ट्रम्पमाथि आरोप लागेको थियो।
उक्त आरोप पुष्टि भयो। बाइडेन आगामी राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिकका तर्फबाट सम्भावित उमेद्वार हुन्। ट्रम्पले राष्ट्रिय नीति तोड्दै युक्रेनसँग सहायता मागेको, ट्रम्पले चुनाव जित्नलाई यस्तो कार्य गरेको अरोप लागेपछि हाल अमेरिकामा ट्रम्पमाथि महाभियोग लगाउनु पर्ने आवज उठेको छ।
सभामुख न्यान्सी पेलोसीले ट्रम्पमाथिको महाभियोगको छलफल सुरुवात गरेकी छिन्। हाल ट्रम्प पेलोसीसँग रुष्ट छन्।
ट्रम्पको ट्वीट
महाभियोगबारे के थाहा छ?
अमेरिकी संविधानका अनुसार देशद्रोह, भ्रष्टाचार र अन्य गम्भीर अपराधको आरोप लागे राष्ट्रपतिमाथि महाभियोग लगाउने प्रक्रिया सुरु हुन्छ।
अमेरिकामा महाभियोग प्रक्रिया प्रतिनिधि सभादेखि सुरु हुन्छ यसलाई पार गर्न सामान्य बहुमत चाहिन्छ। यसमाथि सिनेटमा सुनुवाई हुन्छ यहाँ महाअभियोगको मन्जुरी दिन दुई तिहाई बहुमतको जरुरी पर्छ।
अमेरिकी इतिहासमा अहिलेसम्म कुनै राष्ट्रपतिलाई महाभियोगबाट हटाउन सकिएको छैन। अमेरिकामा महाभियोगको पक्षमा विपक्षी डेमक्रेटिक पार्टीको बलियो समर्थन छ। यदि अनुसन्धान संसद्मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।
त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ। एजेन्सी