काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्स विजयी भएको छ। बिहीबार भएको खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको हो।
टस हारेर ब्याटिङ गरेको ललिततपुरले विराटनगरलाई १ सय २३ रनको विजयी लक्ष्य दिएको थियो। विराटनगरले १६ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाएको हो। विराटनगरको जितमा ज्योती पाण्डेले ४३ बलमा १० चौका १ छक्का प्रहार गर्दै ६५ रनको शानदार पारी खेलिन्। ललितपुरका लागि सम्झना खड्काले २ र करुणा भण्डारीले १ विकेट लिएका थिए।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो। ललितपुरको लागि ममता चौधरीले २८ रनको योगदान दिएकी थिइन्। उनले २४ बलमा ३ चौकासमेत प्रहार गरेकी थिइन्। त्यस्तै करुणा भण्डारीले १८ बलमा समान १ चौका र छक्का सहित २१ रन जोडेकी थिइन्। विराटनगरका लागि सवनम राइ र आरती विडारीले १–१ विकेट लिएका थिए।
जितसँगै विराटनगरले प्रतियोगितामा शुखद शुरुवात गरेको छ। विराटनगरले शुक्रबार पोखरा पल्टनसँग खेल्ने छ भने ललितपुरले शुक्रबारनै चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।