रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ग्राम अस्पताल सञ्चालनका लागि तयारी गरेको छ। गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनका लागि छोटेबगरमा भवनसमेत निर्माण गरिसकेको छ।
ग्राम अस्पतालमा यसै आर्थिक वर्षदेखि चिकित्सकसहितको उपचार सेवा प्रवाह गर्नेगरी काम भइरहेको छ। अस्पताल सञ्चालनका लागि थप भवन, जनशक्ति व्यवस्थापनलगायत काम भइरहेको गाउँपालिकाले जनाएको छ।
आगामी कार्यपालिका बैठकबाट अस्पताल सञ्चालनका लागि थप निर्णय हुने र अन्य कामले तीव्रता पाउने जनप्रतिनिधिको भनाइ छ। अस्पताल सञ्चालनका लागि मुख्य भबनको निर्माण सकिएकाले अन्य प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले बताए।
चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भए अनुसार १५ शय्याको अस्पताल बनाउन लागिएको संयोजक केसीले जानकारी दिए।
‘अस्पताल सञ्चालनका लागि चाहिने संरचना र अरू तयारी धमाधम भइरहेका छन,’ उनले भने, ‘जतिसक्दो छिटो अस्पताल सञ्चालनमा ल्याउने हाम्रो योजना छ।’
गाउँपालिकाले अस्पतालका लागि यस वर्ष एक करोड पाँच लाख रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ। मुख्य भवन बनिसकेकाले विरामी भर्नाका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापन गरेलगत्तै अस्पताल सञ्चालनमा आउने उनी बताउँछन्।
अस्पताल सञ्चालनका लागि एक जना चिकित्सकसहित स्टाफ नर्स, एचए तथा अहेव र अनमी करारमा नियुक्ति गर्ने गाउँपालिकाको तयारी छ। समायोजन भएर आएका स्वास्थ्यकर्मी पनि अस्पतालमा खटिने भएकाले जनशक्ति व्यवस्थापनमा खास समस्या नपर्ने जनप्रतिनिधिको भनाइ छ।
करारमा भर्ना गरिने जनशक्तिका लागि गाउँपालिका र संघीय सरकारबाट आएको बजेटबाट व्यवस्थापन गरिने अध्यक्ष नरबहादुर पुनले बताए।