नेपालगञ्ज– भारतको उत्तर प्रदेशमा १५ दिनसम्म बन्धक बनाइएकी नेपाली युवतीको उद्धार गरिएको छ।
कोहलपुरकी २२ वर्षीया युवतीलाई राम्रो काम लगाइदिने प्रलोभनमा पारेर कोहलपुरमा होटल सञ्चालन गरेर बसेका भारत उत्तर प्रदेश लखिमपुर खिरीका ६५ वर्षका प्रमोद पाण्डेले आफ्नै घरमा र्पुयाई बन्धक बनाएर राखेका थिए।
असोज १२ गते युवतीलाई पाण्डेले भारत लगेका थिए। राम्रो काम लगाइदिने प्रलोभन दिएका पाण्डेले युवतीलाई आफ्नै घरमा लगेर बन्धक बनाएर राखेको कोहलपुर प्रहरीले जनाएको छ।
युवतीलाई भारतीय संघ संस्थामार्फत सोमबार भारतीय प्रहरीले उद्धार गरेको थियो। नेपाल आएपछि युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा शरीर बन्धकमा जाहेरी दिएकी छन्।
युवतीको जाहेरीका आधारमा कोहलपुर प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
भारतीय नागरिक पाण्डेले सञ्चालन गरेको होटलमा युवती लेखा हेर्थिन्। त्यही क्रममा पाण्डेले युवतीलाई यहाँभन्दा राम्रो काम भारतमा लगाइदिने प्रलोभनमा पारेका थिए।
कोहलपुर प्रहरीका मुद्दाफाँट इन्चार्ज सुरेन्द्र पन्तले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । ‘मानव बेचबिखन र शरीर बन्धकमा जाहेरी परेको छ। हामीले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेका छौँ’, पन्तले भने।