गुल्मी _ असारको पहिलो हप्तादेखि बन्द भएको कालिगण्डकी जलयातायात स्टेम्बर सञ्चालन भएको छ। कालीगण्डकी नदीमा पानीको बाहव बढ्दै गएपश्चात जलयातायात बन्द भएको थियो।
तीन जिल्लाको संगम स्थल गुल्मी, स्याङजा र पर्बतको मिर्मी आधिमुहानदेखि सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ भने ४५ मिनेटमा मिर्मीदेखि सेतिबेणीसम्म पुग्न सकिन्छ। शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालीद्बारा संचालित १२ वटा स्टेम्बरहरू संचालनमा रहेको स्टेम्बर ब्यवसायी रत्नबहादुर कुँवरले बताए।
कुँवरका अनुसार मिर्मीदेखि सेतिबेनीसम्म ७ किलोमिटर जलयात्राको १५० रुपैयाँमा प्रतिब्यक्ति टिकट लिएर यात्रा गर्न सकिनेछ। पहिले जलयातायात गर्नेको भीड लाग्दथ्यो अहिले कालीगण्डकी करिडोर सँगै बिभिन्न ठाउँहरूबाट मोटरबाटो संचालनमा आएपश्चात आन्तरिक पर्यटकहरूले मात्र स्टेम्बर प्रयोग गर्ने गरेको कुँवरले बताए।
पहिले गुल्मी, स्याङजा, पर्वत र बाग्लुङसम्मका ब्यक्तिहरूले यात्रा गर्ने गर्दथेँ। अहिले जताततै मोटरबाटाहरू खुलेका कारण जलयात्रा गर्ने ब्यक्तिमा कमी आएको अर्का ब्यवसायी चित्र थापाले बताए। २०५९ सालमा परीक्षण गरिएको स्टेम्बर जलयात्रा २०६१ सालबाट ब्यवसायिक रुपमा संचालनमा रहेका छन्।