एजेन्सी —अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टर्की उत्तरी सिरियामा सैनिक कारवाही रोक्न तयार भएको बताएका छन्। यो घोषणा अंकारामा अमेरिकी उपराष्ट्रपति र टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोआनबीच भएको कुराकानीपछि गरिएको हो।
सबै सैन्य अभियानलाई आगामी पाँच दिनसम्मका लागि रोकिएको र अमेरिकाले सबै कुर्दलाई व्यवस्थित ढंगले फिर्ता गर्नका लागि यो बीचमा मद्धत गर्नेछ। अमेरिकाले टर्कीका तर्फबाट ‘सेफ जोन’ बनाउने प्रयास गरिएको क्षेत्रबाट कुर्दलाई हटाउन मद्धत गर्नेछ। टर्कीले अघिल्लो हप्ता यो अभियानको शुरुवात गरेको थियो र यसको उदेश्य कुर्दलाई धपाएर त्यहाँ सिरियाली शरणार्थीलाई स्थापित गर्ने रहेको बताइँदै आएको छ।
पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न चाहेको र त्यसैअनुसार पहल गरिएको जनाएका छन्। टर्कीका विदेशमन्त्री मेवलुत चाबुशालुले कुर्द सीमा क्षेत्रबाट हटेमा टर्कीको हमला स्थायी रुपमा बन्द हुने जनाएका छन्। उनले आफूहरुले अपरेसन स्थगित गरेको तर समाप्त गरिनसकेको बताउँदै कुर्द पूर्ण रुपमा सो क्षेत्र छोडेर गएमा मात्रै आक्रमण छोड्ने जनाएका छन्।
अमेरिकी उपराष्ट्रपति पेन्सले टर्कीले सैन्य कारवाही रोकेमा उसमाथिको नाकाबन्दी हटाइने समेत जनाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीका राष्ट्रपति अर्दोआनलाई दश दिन अघि पत्र पठाएर बेवकुफी नगर्न आग्रह गरेकोमा अर्दोआनले सो पत्र ‘डस्टबिन’मा फालेको सूत्रले बताएका छ। (बीबीसी बाट)