काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेटमा विराटनगर टाइटन्सले दोस्रो जित निकालेको छ। शुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हराएको हो।
टियु मैदानमा भएको खेलमा पोखराले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्ष्तिमा विराटनगरलाई ९५ रनको सामान्य विजयी लक्ष्य दिएको थियो। पोखराको लागि पविता कुँवर सर्वाधिक २२ रनको योगदान दिएकी थिइन्। उनले २३ बलका २ चौका प्रहार गर्दै २२ रन बनाएकी हुन्। त्यस्तै कप्तान सिता राना मगरले १६ तथा अन्जली चन्दले १५ रन जोडेकी थिइन्। विराटनगरको लागि सब्नम राईले २ र सोनु खड्काले १ विकेट लिएकी थिइन्।
९५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १४.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। विराटनगरको जितमा लक्ष्मी चौधरीले ३७ बलमा २३ रनको पारी खेलिन्। त्यस्तै ज्योति पाण्डेले १६ बलमा २२ रनको योगदान दिइन्। उनले सो क्रममा ४ चौकासमेत प्रहार गरेकी थिइन्। पोखराको बलिङतर्फ सिता राना मगरले २ तथा अनुराधा चौधरीले १ विकेट लिइन्।
प्रतियोगितामा विराटनगरको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको थियो। विराटनगर तालिकाको शीर्षस्थानमा रहेको छ।