बागलुङ– ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव छ। विद्यालयमा ५९० विद्यार्थीले पढ्छन्। ठूला कोठालाई बारेर पढाउनुपर्ने बाध्यता छ। जीर्ण बनेको छात्रावास भवनमासमेत कक्षा सञ्चालन हुँदै आएको छ। विद्यालयलाई पाँच कोठा तत्कालै चाहिएका प्रधानाध्यापक थमप्रसाद रोकाले बताएका छन्।
कक्षाकोठा व्यवस्थापन भए पनि पठनपाठनमा सहजता छैन, उनले भने, ‘एउटै कोठालाई बारेर दुई कक्षा चलाउनुपर्दा अप्ठेरो छ। सिकाइमैत्री कक्षाकोठा नहुँदा विद्यार्थीको पढाइ पनि प्रभावित हुने गरेको उनले बताएका छन्। यही शैक्षिक सत्रदेखि पशु विज्ञान विषयको पढाइ शुरु भएपछि विद्याथी झन बढेका छन्।
विद्यार्थी सङ्ख्याका आधारमा भौतिक पूर्वाधारको भने कमी छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले शिक्षा विभाग र पुनःनिर्माण प्राविधिकरणमा भवनको माग गरिएको बताएका छन्। ‘शिक्षामा आठ कोठे भवन र प्राधिकरणमा चार कोठे भवनका लागि माग गरेका छौँ, उनले भने। प्राधिकरणको सहयोगमा गत आवमा दुई कोठे भवन बनेका थिए।
अहिले विद्यालयमा १८ कक्षाकोठा छन्। बालशिक्षामा कक्षा थप भएपछि कोठा पनि बढाउनुपरेको प्रअ रोकाको भनाइ छ। उनका अनुसार विद्यालयले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाउँदै आएको छ। भवनसँगै छात्रावास, खेल मैदान, शौचालयलगायत भौतिक संरचनाको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता छ।
गाउँपालिकाको केन्द्रमा रहेको र विद्यार्थी सङ्ख्यासमेत बढी भएका कारण सम्बन्धित निकायले बजेटमा प्राथमिकता दिनुपर्ने विद्यालय व्यवस्थापनको माग छ। गाउँपालिकाले उक्त विद्यालयको पूर्वाधार निर्माणमा सहयोग र समन्वय गरिने जनाएको छ। कक्षाकोठा अभावमा बालबालिकाको पढाइ प्रभावित हुन नहुने अभिभावक बताउँछन्।
विद्यालयले कक्षा ११ र १२ मा मानविकी, शिक्षा र व्यवस्थापन शङ्काय सञ्चालन गरेको छ। प्राविधिक धारतर्फ पशु विज्ञान विषयमा ३८ विद्यार्थी अध्ययनरत छन्। उक्त विषयको पठनपाठनका लागि पनि थप कक्षाकोठा र प्रयोगशाला भवनको आवश्यकता छ। (रासस)