काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन्।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ। राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिने छन्। उक्त समारोहपछि उनी सम्राट नारुहितोले आयोजना गर्नुहुने राजकीय भोजमा सरिक हुनेछिन्।
भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्नुहुने स्वागत समारोहमा भाग लिनेछिन्। यसैगरी उनले जापानस्थित गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिने जनाइएको छ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनेछन्। राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ।