एजेन्सी– आइसीसी टी–२० विश्वकप छनोटमा स्कटल्याण्डविरुद्ध सिंगापुर विजयी भएको छ। दुबईको आइसीसी क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले स्कटल्याण्डलाई २ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। सिंगापुरको लागि सुरेन्द्रन चन्द्रमोहनले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए। त्यस्तै सिंगापुरको बलियो योगफल तयार गर्न अरित्र दत्तले १५ बलमा ३ छक्का र १ चौकाको मद्धतमा ३२ रन तथा मनप्रित सिंहले २६ रन र जनक प्रकाशले २० रनको योगदान दिए। स्कटल्याण्डको लागि जोश डेभि र सफयान शरिफले समान २ र अलास्देयर इभान्स र हज्मा ताहिरले समान १ विकेट लिए।
१ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड जितको नजिक पुगेर अप्रत्याशित हार बेहार्न बाध्य भयो। स्कटल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रनमा समेटियो। स्कटल्याण्डको पारीमा जर्ज मुन्सेले आक्रामक पारी खेलेतापनि टोलीको हार टार्न सकेनन्। उनले मात्र २५ बलमा ४६ रन बनाएका थिए। त्यसक्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे। त्यस्तै क्याल्कम म्याकलोडले ३१ बलमा ४४ रन र कप्तान कायल कोइटजेरले ३६ बलमा ३६ रन जोडेका थिए।
सिंगापुरको जितमा एस विजयकुमारले ३ विकेट लिए। उनले ४ ओभरमा १६ रन खर्चिएका थिए। त्यस्तै अज्मद महबुबले २ तथा सिद्धान्त सिंहले २ विकेट लिए। जितसँगै सिंगापुरले छनोटमा शुखद शुरुवात गरेको छ।
स्काेरकार्डः https://www.espncricinfo.com/series/8040/scorecard/1199499/scotland-vs-singapore-1st-match-group-a-icc-mens-t20-world-cup-qualifier-2019-20