काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेटमा चितवन राइनोज विजयी भएको छ। शुक्रबार भएको खेलमा चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो। चितवनको लागि रितु कनोयजियाले अर्धशतकीय पारी खेलिन्। उनले ५५ बलमा ८ चौका प्रहार गर्दै नट आउट ५८ रन बनाएकी थिइन्। चितवनको पारीमा प्यारी चौधरीले २३ बलमा नट आउट २२ रन, काजल श्रेष्ठले १५ रन जोडेका थिए। ललितपुरको लागि न्यारी थापाले ४ ओभरमा २० रन खर्चिँदै २ विकेट लिएकी थिइन् भने करुणा भण्डारीले १ विकेट लिइन्।
१ सय ३६ रनको मध्यम लक्ष्य पछ्याएको ललितपुरले नितवनसामु खुलेर प्रदर्शन गर्न सकेन। ललितपुर १७.१ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो। ललितपुरको पारीमा न्यारी थापाबाहेक अन्य ब्याट्म्यानले दोहोरो अंक जोड्न सकेनन्। न्यारीले २० बलमा १७ रन बनाएकी थिइन्। त्यस्तै शान्ति चौधरीले ७ र कविता जोशीले ८ रन बटुलेकी थिइन्।
चितवनलाई फराकिलो जित दिलाउन बलिङतर्फ कविता गौतमले उत्कृष्ट प्रदर्शन गरिन्। उनले ४ ओभरमा ३ रन दिादै ३ विकेट लिइन्। त्यस्तै रितु कनोउजियाले २ तथा रेखा रावलले एक विकेट लिइन्। जितसँगै चितवन अंक तालिकाको दोस्रो स्थानमा छ भने ललितपुर चौथो स्थानमा छ।