काठमाडौं– इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल्ने राष्ट्रिय फुटसल टोलीको विदाई गरिएको छ। विजय गुरुङको कप्तानीमा सो टोलीलाई शुक्रबार विदाई गरिएको हो।
मुख्य प्रशिक्षक विष्णु गुरुङसहितको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटिले विदाई गरेको हो। नेपालले सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ। नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ। २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ।
खेल राउन्ड रोविनको आधारमा सञ्चालन हुनेछ। ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश गर्नेछन्। एएफसी फुटसल च्याम्पियनसिप २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुँदैछ।
नेपाली टोलीमा आदिल हामिद, आषिश लामा, अभय राना, अनिश श्रेष्ठ, अरुज सिंह, विजय गुरुङ, विजय श्रेष्ठ, बिनोद गुरुङ, मणि लामा, निर्मल गुरुङ, सन्जोक चाम्लिङ राई, सरोज तामाङ, सुमित आले, र सुरज गुरुङ रहेका छन्। नेपाली टोली आइतबार इरान जानेछ।