काठमाडौं _ क्षेत्राधिकार मिचेर मुद्दामा अन्तरिम आदेश दिएको सुनुवाइ आरोप लागेका उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई न्याय परिषद्ले सेवाबाटै बर्खास्त गर्ने निर्णय गरेको छ।
बिहीबारको बैठकले पद अनुकूलको आचरण गरेको नदेखिएको भन्दै शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो। परिषदका एक सदस्यले बिहीबारको निर्णय अनुसार शाहीलाईलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरिएको जानकारी दिए।
हेटौंडा उच्च अदालतको क्षेत्राधिकार मिचेर करसम्बन्धी एक रिटमा अन्तरिम आदेश दिएको आरोपमा शाहीसहित तीन जना न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतले परिषदमा पठाएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र राणाको इजलासले छानबिनका लागि एक महिनाअघि परिषदमा पठाएको हो। छानबिनका लागि सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा समिति गठन गठन भएको थियो।
छानबिनकैक्रममा आरोप लागेका उच्च अदालत पोखराका न्यायाधीश रामचन्द्र यादव र जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका थिए। छानबिन प्रतिवेदनका आधारमा न्यायाधीश शाहीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।