काठमाडौं _ संसद सचिवालयको कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका सभामुख कृष्णबहादुर महराको बयान हुन सकेको छैन।
रक्तचाप र छाती दुख्ने समस्या देखिएपछि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतबाट अस्पताल भर्ना गरिएका उनले बयान दिन मानेका छैनन्। प्रहरीले अभियुक्तको बयान सरकारी वकिलको रोहबरमा लिनुपर्छ।
अहिले नर्भिक हस्पिटलको सीसीयू वार्डमा रहेका उनलाई भेट्न गएका एक प्रहरी अधिकृत भन्छन्, ‘स्वास्थ्यका कारणले उहाँले अहिले बयान दिनसक्ने आशय व्यक्त गर्नु भएको छ।’ यद्यपि, काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटी भने महराको बयान हुने बताउँछन्।
उनले अनलाइनखबरसँग भने, ‘स्वास्थ्यको कारणले हो। समय छ, उहाँको बयान हुन्छ।’ बालुवाटारस्थित सरकारी निवासबाट १९ असोजमा पक्राउ परेका महराले प्रहरीसँग अनौपचारिक संवादमा भने आरोप अस्वीकार गर्दै आएको प्रहरी स्रोत बताउँछन्।
एक अधिकृतले भने, ‘महिलाको घरमा गए पनि आरोप लगाए जस्तो केही भएको थिएन भन्ने उहाँको कुरा छ।’ पीडित भनिएकी महिलाको बयान पनि पटकपटक फेरिइरहेको छ। प्रारम्भमा १२ असोजको साँझ आफूमाथि बलात्कार प्रयास भएको भन्दै प्रहरीमा खबर गरेकी उनले स्वास्थ्य परीक्षण र उजुरी दिन मानिनन्।
दुई दिनपछि महराले सभामुख पदबाट राजीनामा दिए। महिलाले भने बाहिर आए जस्तो घटना नभएको भन्दै सार्वजनिक रुपमै बताउन थालिन्। उनले डिप्रेसनको शिकार भएको र के बोलेँ पनि थाहा नभएको जनाउँदै प्रहरीमा पनि निवेदन दिएकी थिइन्।
तर, श्रीमानसँग डिभोर्स भएको सार्वजनिक भएको भोलिपल्टै उनले प्रहरीमा किटानी जोहरी दिइन्। र, अहिले महरा प्रहरी नियन्त्रणमा छन्।