एजेन्सी– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ। शुक्रबार राति भएको खेलमा पीएसजीले नाइसलाई डि मारियाको गोलसँग ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो।
पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा केलियन एमबाप्पे र मौउरो इकार्डीले समान १–१ गोल गर । नाइसका इगनाटस गनागोले सान्त्वना गोल फर्काए।
खेलको १५ औं मिनेटमा डि मारियाको गोलबाट पीएसजीले खेलमा शुरुवाती अग्रता बनाएको थियो। उनले मौउरो इकार्डीको पासमा गोल गरेका थिए। त्यस्तै २१ औं मिनेटमा मारियाले थोमस म्युनियरको पासमा गोल गर्दै अग्रता दोब्बर पारे।
६७ औं मिनेटमा इग्नाटसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, त्यसपछि दुई मिनेटको अन्तरमा नाइस ९ खेलाडीमा समेटिएपछि घरेलु टोली समस्यामा परेको थियो। वेलान सिप्रिन दोहोरो पहेँलो कार्ड तथा क्रिस्टोफो हेरेले सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । यसको फाइदा पीएसजीले उठायो।
८३ औं मिनेटमा पाब्लो सारावियाको स्थानमा मैदान प्रवेश गरेका केलियन एमबाप्पेले ८८औं मिनेटमा गोल गर्दै खेललाई ३–१ को आरामदायी अवस्थामा ल्याए। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मौउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए।
यस जितसँगै पीएसजी १० खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित नाइस १३ अंकसहित नवौं स्थानमा छ।