एजेन्सी– आईसीसी टी–२० विश्वकप छनोटमा यूएईविरुद्ध ओमान विजयी भएको छ। ओमानले घरेलु टोली यूएईलाई पहिलो खेलमा ७ विकेटले पराजित गरेको हो।
१ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो। अकीव इलियासले ५१ बलमा ३ चौका सहित अविजित ४५ रन जोडे। अमिर कलिम २७,जेशन मक्सुद १६ र जितेन्द्र सिंहले १५ रन जोडेका थिए।
यूएईका लागि अमिद राजा र जुनैद सिद्दीकीले समान १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सकेको थियो। यूएईका लागि ओपनर चिराग सुरीले १६,रोहन मुस्तफा २४,मुहम्मद उस्मान २७ र रमिज शहजादले १४ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्।
बिलाल खान र फयाज बट्ट समान ३ विकेट लिएपछि यूएई सस्तैमा समेटिनपुगेको थियो । मोहम्मद नदीम र खवर अलीले १–१ विकेट लिए। यूएईले शनिबार आयरल्यान्डसँग खेल्ने छ। ओमानले आइतबार हङकङसँग खेल्ने छ।