काठमाडौं– वुमन्स लिग टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ। शनिबार भएको खेलमा चितवनले पोखरा पल्टनलाई ७ विकेटले पराजित गरेको हो।
पोखराले दिएको १ सय २८ रनको विजयी लक्ष्य चितवनले १८ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। चितवनको जितमा लागि काजल श्रेष्ठले अर्धशतक बनाइन्। उनले ४७ बलमा ५१ रन बनाइन्। त्यसक्रममा उनले ५ चौकासमेत प्रहार गरिन्। त्यस्तै कञ्चन श्रेष्ठले ३४ बलमा २९ रन, इन्दु बर्माले २३ बलमा २४ रन तथा सुमन खतिवडाले ६ रन जोडेकी थिइन्। पोखराको बलिङमा अन्जली चौधरीले २ विकेट लिइन्। उनले ४ ओभरमा १९ रन खर्चिएकी थिइन्। त्यस्तै सुष्मा श्रेष्ठले १ विकेट लिइन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो। पोखराको लागि कप्तान सिता राना मगरले आक्रामक पारी खेलिन पनि टोलीलाई हारबाट जोगाउन सकिनन्। उनी ५६ बलमा ६५ रन बटुल्दै नट आउट रहिन्। त्यसक्रममा उनले ७ चौका र १ छक्का प्रहार गरेकी थिइन्। त्यस्तै पोखराको पारीमा मन्जु बोगटीले १६ बलमा २४ रन, कविता कुँवरले १९ बलमा १५ रन जोडेकी थिइन्।
चितवनको लागि कविता गौतमले २ विकेट लिइन्। उनले ४ ओभरमा २१ रन दिएकी थिइन्। त्यस्तै रेखा रावलको नाममा १ विकेट रह्यो। जारी प्रतियोगितामा यो चितवनको लागातार तेसे जित हो भने पोखराको लगातार तेस्रो हार हो।
स्काेरकार्डः https://www.espncricinfo.com/series/19604/scorecard/1203097/chitwan-rhinos-women-vs-pokhara-paltan-women-6th-match-womens-champions-league-twenty20-cricket-tournament-2019-20