काठमाडौं– दुर्गन्धित मानिने बागमतीको पानी प्रशोधन भइरहेको छ। गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।
करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम पुससम्ममा सकिने आयोजना प्रमुख लिला प्रसाद ढकालले बताएका छन्। खानेपानी मन्त्री बिना मगरसहितको टोलीले शनिबार प्रशोधन केन्द्रको अवलोकन गरेको छ। त्यसक्रममा ढकालले निर्माणकार्य सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिने जानकारी गराएका थिए।
पानी प्रशोधनसँगै अब बागमतीको पानीमा पौडी खेल्न मिल्ने आयोजना प्रमुख ढकाललको भनाई छ। उनले भने ‘‘ आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहन्छ त्यसपश्चात् ढुक्क भएर नुहाउन सकिन्छ।’’
आयोजना अवलोकपछि खानेपानी मन्त्री मगरले ऐतिहासिक महत्व बोकेको बागमती नदी सफाइका लागि सरकारले अभियान सञ्चालन गरेको भन्दै यसलाई सफल बनाउन सबैपक्षको सहयोग जरुरी रहेको बताइएकी थिइन्।
एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३ सय ९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ। यस्तै प्रतिघण्टा ३ सय २० किलोवाट बिजुली समेत उत्पादनगर्न सकिने छ। बागमतीको पानीमा भएको फोहोर जम्मा गरेर ग्यासबाट बिजुली निकाल्न सकिने बताइएको छ।