एजेन्सी– टी–२० विश्वकप छनोटमा पपुवान्युगिनिले शानदार जित निकालेको छ। शनिबार भएको खेलमा पपुवा न्युगिनीले बर्मुडालाई १० विकेटले हराएको हो।
बर्मुडाले दिएको ९० रनको झिनो विजयी लक्ष्य पपुवा न्युगिनिले १०.२ ओभरमा विना कुनै विकेटको क्षतिमा भेट्टायोस। पपुवा न्युगिनीको जितमा कप्तान अस्साद भालाले विष्फोटक पारी खेले। उनले ३५ बलमा ७ चौका र एक छक्का हान्दै नटआउट ५३ रनको अर्धशतकीय योगदान दिए। त्यस्तै टानी उराले २७ बलमा नटआउट ३३ रन बनाए। बर्मुडाको कुनैपनि खेलाडीले विकेट हात पार्न सकेनन्।
त्यसअघि पहिले ब्याटिङ गरेको बमुर्डाले १७.२ ओभरमा अलआउट हुँदै ८९ रन मात्रै बनायो। बर्मुडाका लागि डेलरे रलिन्सले सर्वाधिक २५ रन बनाएका थिए। त्यस्तै रोड्न्य ट्रोटले १९ र अलान डउग्लासले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन्।
बमुर्डालाई सानो योगफलमा रोक्न पपुवा न्युगिनीका नोरमन भनुयले ३ विकेट लिए। उनले २.२ ओभरमा १४ रन खर्चिएका थिए। त्यस्तै अर्का बलर नोसैना पोकानाले २ विकेट लिए।