म्याग्दी, ११ माघ - कलेजो र पित्तनलीको समस्याले थलिएका मोफसलका पत्रकार अर्जुन शर्माको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको छ। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, ओमकुमारी शान्ति कोषलगायत सङ्घसंस्थाहरूले बेनी नगरपालिका–९ जम्रेनीका सुवेदीको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेका हुन्। पत्रकार महासङ्घको बिहीबार बसेको बैठकले शाखाको तर्फबाट १० हजार रुपैयाँका साथै सदस्यबाट स्वेच्छिक रूपमा सहयोग उपलब्ध गराउने निर्णय गरेको शाखा अध्यक्ष तारानाथ शर्माले जानकारी दिए। सिद्धार्थ बैंकको बेनी शाखाका कर्मचारीले खाजा खर्च कटाएर ८ हजार २ सय रुपैयाँ सहयोग गरेका छन्। अस्ट्रृेलियामा बसोबास गर्दै आएका म्याग्दी जलजला परिवारले सञ्चालन गरेको अभियानबाट बिहीबारसम्म १ हजार ५ सय डलर सङ्कलन भएको सुवेदीका आफन्त मुक्ति सुवेदीले जानकारी दिए। सुवेदीलाई उपचारका लागि केही दिनअघि भारतको गङ्गाराम अस्पतालमा लगिएको छ। मध्यम वर्गीय परिवारका सुवेदीको उपचारका लागि ४० लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने परिवारले जनाएका छन्। पत्रकार सुवेदी एक दशकदेखि नागरिक दैनिकमा कार्यरत छन्। १ करोड रुपैयाँको घुम्ती कोष परिचालन म्याग्दीको धवलागिरि गाउँपालिकामा विपन्न वर्गको आयआर्जनका लागि करिब १ करोड रुपैयाँको घुम्ती कोष परिचालन गरिएको छ। गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सङ्गम म्याग्दीमार्फत सञ्चालित सामुदायिक विकास परियोजनाले सहकारी संस्थामार्फत सो कोष परिचालन गरेको हो। मुनाको मुनाल कृषि, गुर्जाको हिमाली कृषि, मुदीको नमुना धौलागिरि र लुलाङको नमुना उद्यमशीलता महिला विकास सहकारी संस्थामार्फत सहुलितय ब्याजदरमा घुम्ती कोष परिचालन गरिएको परियोजनाका उद्यम विकास अधिकृत धनमाया किसानले बताए। अधिकृत किसानका अनुसार पाँच सहकारी संस्थामार्फत विभिन्न उद्यम, व्यवसाय सञ्चालन गर्न ६० लाख ६६ हजार १ सय ८० रुपैयाँ घुम्ती कोष र २६ लाख ७५ हजार २ सय ७६ रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। एकपटकमा एक जनाले १ लाख रुपैयाँसम्म ६ प्रतिशत ब्याजदरका दरले घुम्ती कोषबाट सुविधा लिन पाउने सुविधा छ। घुम्ती कोषबाट ऋण लिएर बेकरी उद्योग, मोटरसाइकल मर्मत, तरकारी खेती, सिलाइकटाइ, होमस्टे, स्विटर बुनाइ, कुटानी पिसानी मिल, बाख्रा, कुखुरा, बङ्गुरपालनलगायत व्यवसाय गर्न सकिन्छ। मुनाल कृषि सहकारी संस्थाबाट घुम्तीकोष र अनुदानसहित थप स्वलगानी गरेर मुनामा विद्युतीय मिल सञ्चालन गरेका मेघबहादुर शेरपुञ्जाले स्वरोजगार बन्नाका साथै छोराछोरी पढाउन र घरखर्च जुटाउन सहज भएको बताए। २ लाख २१ हजार रुपैयाँको लगानीमा विद्युतीय मिल स्थापना गरेका शेरपुञ्जाले सहकारीबाट ६० हजार रुपैयाँ ऋण र परियोजनाले प्रोत्साहनस्वरूप २७ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। उद्यमीले व्यवसाय सञ्चालनका लागि स्वलगानी पनि गरेका छन्। सहकारी संस्थामार्फत पनि आयआर्जनका गतिविधिमा सहयोग पुर्याइएको छ। परियोजनाको सहयोगमा मुनाल कृषि सहकारी संस्थाको भवन निर्माण गरिएको छ। सहकारी संस्थाले स्थानीयबासीमा बचतको बानी विकास, व्यक्तिबाट महँगाेमा ऋण लिनुपर्ने अवस्थाको अन्त्य र आर्थिक कारोवार गर्न सहज भएको मुनाल कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र रोकाले बताए। शिक्षाको पहुँचदेखि टाढिएका आर्थिक रूपमा विपन्न र गरीब समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने र टिकाइराख्न सहयोग पुगोस् भनेर परियोजनाले अभिभावकको आयआर्जनमा सहयोग गरेको हो। गुर्जा, धवलागिरि हिमाल, जलजला, ढोरपाटन सिकार आरक्ष, धौलागिरि चक्रीय र गुरिल्ला पदमार्गमा समेटिएका यस परियोजना लागू भएका गुर्जा, मुना, लुलाङ, मुदी, नाउरा, बगरका ५० घरमा होमस्टे पनि सञ्चालन भएको छ। (रासस)