घटना १: प्रधानमन्त्री बिपी कोइरालाको औपचारीक भारत भ्रमण बि .स. २०१६ माघ ३ गतेदेखि १६ गतेसम्म। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री बिपीलाई भनेछन् - “बिपी, तपाई यसपछि चीनको भ्रमण जाँदै हुनुहुन्छ । त्याहाँ तपाईले यो-यो विषयमा कुरा गर्नुपर्छ।” बिपीले नेहरुलाई जवाफ दिए - “चिनसँग के विषयमा कुरा गर्ने र के नगर्ने मलाई थाहा छ। म आफ्नो हिसाबले कुरा गर्छु, यो नेपालको आन्तरीक मामला हो।” घटना २: प्रधानमन्त्री बिपी कोइरालाको औपचारीक चीन भ्रमण बि .स. २०१६ फागुन २३ गतेबाट। मध्यरातमा प्रधानमन्त्री बिपी कोइरालाले चीनीयाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङसँग भेट्ने अवसर पाए। त्यही बेला माओले सगरमाथालाई दुवै देशको साझा चुचुरो बनाउन प्रस्ताव गरे। माओले भने –“यसलाई मितेरी चुचुरो बनाऊँ।” बिपीले असहमति जनाउँदै भने, “यो त हाम्रो देशभित्र छ। कसरी साझा चुचुरो बनाउने?” माओले सोधे, “तिम्रो देशमा पर्छ कसरी भन्ने ? यसको त नेपाली नाम नै छैन।” बिपीले तत्काल भने, “नेपाली नाम छ। हामी सगरमाथा भन्छौँ। चिनीयाँहरुको नाम पनि त छैन, चोमोलुङ्मा त तिब्बती नाम हो ।” माओले ‘तिब्बत भनेको चीन नै त हो नि’ भन्ने जवाफ दिए। दुइ नेताबिच झण्डै डेढ घण्टा कुरा भयो। घटना ३: चिनीयाँ प्रधानमन्त्री चाउ एन लाईको नेपाल भ्रमण, बि .स. २०१७ वैशाख । फर्किने अघिल्लो दिन बि .स. २०१७ वैशाख १६ गते प्रधानमन्त्री चाउले ग्यालरी बैठक (संसद भवन) मा पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ भारतीय पत्रकारहरुले ‘नेपालसँगको सीमा समाधान भयो ?’ भनेर कडा प्रश्न गरे। भारतीय पत्रकारहरुलाई चाउले भने, “नेपालसँग हाम्रो त्यस्तो कुनै समस्या छैन। नेपाल एउटा सानो मुलुक हो। हामीसँग त्यत्रो विशाल क्षेत्रफल छ। केही सय वर्ग माइल नेपालले लियो भने पनि हामीलाई फरक पर्दैन।” पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्रीले थपेका थिए, “हामीले आफ्नो नक्सा फिर्ता गरेर नेपालको नक्सा स्वीकार गरिसक्यौँ। सगरमाथा नेपालको हो। दक्षिणबाट आरोहण गर्नेलाई नेपालले र उत्तरबाट आरोहण गर्नेलाई चीनले अनुमति दिनेछ।” घटना ४: मुस्ताङ घटना बि .स. २०१७ असार १५ गते। मुस्ताङको नेपाल–चीन सीमा नजिक नेपाली भूमीमा चिनियाँ सेनाले चलाएको गोलीबाट सुबेदार बमप्रसादको घटना स्थलमै मृत्यु भयो। १७ जना नेपाली कर्मचारी सहित उनीहरुका साथमा रहेका घोडा र सामान पनि चिनीया सेनाले लिएर गए। चिनियाँ पक्षले दुई देशबीच भएको सम्झौता उल्लङ्घन गरी नेपाली कर्मचारीको हत्या गरेकोमा नेपाल सरकारले भत्र्सना गर्यो। प्रधानमन्त्री बिपी आफैले समकक्षी चीनका प्रधानमन्त्रीलाई पत्र पठाएर नेपाललाई ५० हजार क्षतिपूर्ती माग गरे। तल्लो तहको सैनिक कर्मचारीको कमजोरीबाट घटना भएको स्विकार्दै चीनले माफी मात्र मागेन, क्षतिपूर्ति बापत ५० हजार रुपैया समेत पठायो। माथिका घटनाहरु पत्रकार जगत नेपालको पुस्तक पहिलो संसद् बाट साभार गरिएका हुन्। यी घटनाहरु हेर्दा थाहा हुन्छ की नेपालले बिपीजस्तो प्रधानमन्त्री नपाएको भए सायद आज सगरमाथा हाम्रो हुने थिएन। हालका प्रधानमन्त्रीहरुले आफुलाई जतिसुकै राष्ट्रवादी सावित गर्न खोजेता पनि उनीहरुको व्यवहार भने त्यस्तो देखिदैन। आफुलाई राष्ट्रवादी दावी गर्ने प्रधानमन्त्रीहरुले भारतीय प्रधानमन्त्री सहित केही भारतीयहरुले बुद्ध भारतमा जन्मिएको भन्दा समेत केही बोल्न सकेका छैनन्। अर्कोतर्फ भारतीयहरुले र भारतीय सेनाहरुले नेपाल-भारत सीमानामा आतंक मच्चाइरहदाँ समेत नेपालका राष्ट्रवादी प्रधानमन्त्रीहरुले भारतलाई त्यसो नगर्न भन्न समेत सकेका छैनन्। बिपीले चिनलाई माफी मगाएजस्तै भारतलाई माफी मगाउने र क्षतिपूर्ति असुल्ने त सायद राष्ट्रवादी प्रधानमन्त्रीहरुले सपनामा समेत सोच्न सक्दैनन् नत्र देशको सीमानामा भारतले आतंक मच्चाउदा किन आज सम्म भारतले माफ माग्नुपरेको छैन? बिपी कोइरालाले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई नेपालको आन्तरीक मामलामा भारतले बोल्न आवश्यक छैन भनेजस्तै अहिलेका कुनै राष्ट्रवादी प्रधानमन्त्रीहरुले भारतीय समकक्षीलाई त्यसो भन्ने हिम्मत गर्लान् ? बिपी जस्तो प्रतिभाशाली र क्षमतावान प्रधानमन्त्रीलाई काम गर्न नदिएर सायद तत्कालीन राजा महेन्द्रले नेपाललाई ठुलो हानी पूर्याएका रहेछन्। आत्मवृत्तान्तका सम्पादक वरिष्ठ अधिवक्ता गणेशराज शर्माले २०३९ साउन ६ गतेको बिपीसँगको अन्तिम कुराकानीका बारेमा लेख्छन्, “.... म उहाँको नजिक स्टुलमा बसे। खाटमा गिरिजाबाबु बस्नुभयो। म आएको कुरा गिरिजाबाबुले अलि जोरले भन्नुभयो। बिपीका हात उठ्न सकेनन्। अनुहारमा कुनै परिवर्तन थिएन। तैपनि हत्केलाका चार औला मुठी पारे जस्तै खोल्ने र बन्द गर्ने गर्नुभयो। मैले हत्केला सुमसुम्याएँ। अलि सजिलो देखिनुभयो। गिरिजाबाबुलाई उहाँको सङ्केत बुझ्ने बानी परिसकेको थियो। ‘सान्दाइले बोल्नुहोस् भन्नुभयो’ भनि गिरिजाबाबुले भनेपछि मैले भने -‘अब बोल्ने कुरा नै के छ र? तपाईजस्तो अरुको कुरा सुन्ने, विश्लेषण गर्ने, उच्चस्तरको बौद्धिकता, आदर्श र नैतिकता राजनीतिमा अब देख्न पाइने छैन भन्ने रिक्तता अनुभव हुन थालेको छ। एउटा पिछडीएको मुलुकमा यति आधुनिक मान्यताहरुलाई सङ्गठित गर्नुभयो। यस पार्टीलाई अब तपाई नरहेपछि कसले बौद्धिक नेतृत्व देला? कसले दिशानिर्देश गर्ला भन्ने चिन्ता हरबखत लाग्छ।’ मैले यी कुरा भनिसकेपछि बिपीको अनुहारमा पिडा बढेकाे लक्षण देखिए। झण्डै रुन लागेको जस्तो आकृति र स्वभावमा उहाँले भन्नुभयो, ‘अब सबै इन्डियाले गर्छ ।’ जननायक बिपीको अन्तिम शब्द थियो यो। बिपी गलत थिएनन् आज उनको पार्टीको मात्र नभइ नेपालका सबै पार्टी र समग्र नेपालकै दिशानिर्देश भारतले गरिरहेको छ। संसदीय व्यवस्था गलत हो वा सही हो त्यो मलाई थाहा छैन तर बिपीले नेपालमा देख्न चाहेको संसदिय व्यवस्था आजको जस्तो भने पक्के थिएन। सरकारले संसद् र विपक्षलाई उच्च प्राथमीकतामा राखेर संसदिय व्यवस्थालाइ बिपीले अगाडी बढाउन खोजेका थिए तर वर्तमानमा सरकारले न त संसदलाई प्राथमिकतामा राखेको छ न त विपक्षीलाई नै र त्यसैगरी न त विपक्षीले नै संसदलाई प्राथमिकतामा राखेको छ। तत्कालीन समयमा भारतीय प्रधानमन्त्रीको संसद् भन्दा धेरै राम्रो र पूर्ण अभ्यासले चलेको रहेछ प्रधानमन्त्री बिपीको संसद। पत्रकार नेपालको पुस्तकमा भनिएको छ की बिपीको संसद्मा रोस्टम घेर्ने, माइक फाल्ने, कुर्सी भाँच्ने, बोल्न नदिने कहिल्यै पनि भएन। र यसकुरा त्यतीबेला आवश्यक्ता पनि रहेन। सरकार र बिपक्षी बिच संसद्मा भएको सवालजवाफ धेरै रोचक र गहनरुपमा हुने गरेका रहेछन् जुन अहिले पाउन निकै मुश्किल छ। प्रधानमन्त्री बिपी कोइरालाको १८ महिने कार्यकालकै उपलब्धी मान्नुपर्छ चीनसँगको नेपालको राम्रो सम्बन्धलाई पनि। छोटो समयको लागी मात्र बिपीलाई प्रधानमन्त्रीको रुपमा पाउनु नेपालको लागी दुर्भाग्य सावित भइसकेको छ। प्रधानमन्त्री भइसकेका बिपीको आफ्नै निजी गाडी त थिएन नै उनले निजी घर पनि बनाएनन्। त्यस्तै बिपीले प्रधानमन्त्री भएपछि प्रधानमन्त्री, मन्त्रीहरुको तलब कटौती गरेर राज्यको लागि खर्चको योजना बनाएका थिए। पुस्तक पहिलो संसद् मा पत्रकार नेपालले ‘दायित्व द्वैमासिक, २०७१ चैत–२०७२ वैशाख, बिपी शतवार्षिकी विशेषाङ्क’लाई उद्घृत गर्दै लेखेका छन्, ‘बिपी भन्ने गर्थे –“हाम्रो देशमा १०० मध्ये ९० जति मानिस गरिब छन्। कुटोकोदालो गरेर बस्छन्, जसलाई खान लाउन पुग्दैन। जब म नेपालको कल्पना गर्छु, त्यति बेला ती गरिब दाजुभाइहरुको तस्बिर मेरो अगाडी आउँछ। मैला लुगा लगाएका, खान नपाएका र रोगी अनुहारको तस्बिर। अनि मलाई लाग्छ– यी रोगी, खान नपाएका अनुहार पो हाम्रो देश हो। त्यसो हुनाले खान नपाएकाको पेटमा अन्न जाओस्, हाँस्न नपाएकाको ओठमा हाँसो आओस्, रोगीले औषधिमूलो पाओस्, केटाकेटीले पढ्न पाऊन् भनेर नै हामी राजनीतिमा लागेका हौँ । मन्त्री हौँला, ठूला आरामदायी कुर्सीमा बसौँला भनेर राजनीतिमा लागेका होइनौँ”।’ तर उनकै कार्यकर्ता प्रधानमन्त्री भएको बखतमा निर्वतमान् प्रधानमन्त्रीलगायत विशिस्ट व्यक्तिहरुलाई राज्यले आजिवन सेवा सुविधा दिने घोषणा भएको छ। आज उनकै कार्यकर्ताहरु सांसद भएका छन् जसले संसद्लाई कहिल्यै प्राथमिकतामा राख्दैनन् तर बिपीका कार्यकताहरु नै सांसदहरुले पेन्सन पाउनुपर्ने माग गर्दै आएका छन्। यो बेला बिपी जिवित थिए भने सायद कति रुने थिए होला ? बिपीको पार्टी नेपाली काङ्ग्रेस र बिपीको देश नेपाल आजको स्थितीमा किन यती कमजोर भयो त ? यी प्रश्नहरुको उत्तर कसले दिन सक्ला र। सायद ‘पार्टीलाई अब तपाई नरहेपछि कसले बौद्धिक नेतृत्व देला ? कसले दिशानिर्देश गर्ला भन्ने चिन्ता हरबखत लाग्छ ।’ भनि प्रश्न गर्दा बिपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मालाई दिनुभएको जवाफ नै यी प्रश्नहरुको वास्तवीक उत्तर हो अर्थात् ‘अब सबै इन्डियाले गर्छ ।’ बिपी गलत थिएनन् त्यसैले त सायद आज नेपाली काङ्ग्रेस सहित नेपालका सम्पूर्ण पार्टी र देशकै नेतृत्व र दिशानिर्देश इन्डियाले गरेको छ।