काठमाडौँ – टीकापुर घटनाबारे कैलाली जिल्ला अदालतले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनको सुनुवाई आइतबारदेखि सुरु भएको छ।
कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते टीकापुर घटनामा संलग्न मध्ये रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। यस्तै अरु १२ जनालाई अदालतले तीन वर्ष जेल सजायको फैसला गरेको थियो।
सरकारले सर्वस्वसहित जन्मकैदको माग गर्दै दायर गरेको मुद्दामा जिल्ला अदालत कैलालीले जन्मकैद तथा तीन वर्षको जेल सजाय सुनाएको हो। जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिलको कार्यालय र सजाय पाएकाहरुले उच्च दीपायलमा पुनरावेदन गरेका थिए।
सरकारी वकिलको कार्यालयले सजाय थोरै भएको भन्दै र सजाय पाएकाहरुले घटना राजनीतिक भएकाले आफूहरुलाई सजाय हुन नहुने भन्दै पुनरावेदन गरेका हुन्। सो पुनरावेदनको मिसिल हेरेर आइतबारदेखि उच्च अदालत दीपायलमा सुनुवाई सुरु भएको हो। मुद्दाको सुनुवाईका लागि न्यायाधीश धीरबहादुर कार्की र नरसूल्लाह अन्सारीको पेशी तोकिएको छ।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो।