काठमाडौं — संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आईपुगेका छन्।
सन् २०१७ मा युएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएका डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। उनका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि छन्।
यस वर्ष युएनएफपीएको ५० औँ वार्षिकोत्सव तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आइसीपिडी) को २५औँ वार्षिकोत्सव मनाइँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसित कार्यकारी निर्देशक डा कनेमले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
साथै, कार्यकारी निर्देशक डा कनेमले नेपाल सरकारका उच्चपदस्थ अधिकृत, यहाँस्थित राष्ट्रसङ्घमा कार्यरत कर्मचारी, विकास साझेदारका प्रतिनिधिसँग अलग–अलग भेटवर्ता गर्ने यहाँस्थित युएनएफपीएमा कार्यरत सञ्चार तथा पैरवी अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिए।
आइसीपिडी सम्मेलनमा नेपालले जनाएको प्रतिबद्धताको हालसम्म कार्यान्वयन, नेपालले यौन तथा प्रजनन स्वास्थ्य, शिशु तथा मातृमृत्युदर घटाउन गरेका प्रयास, परिवार व्यवस्थापन, परिवार नियोजनका साधनको पहुँच विस्तार क्षेत्रमा कुराकानी हुने जनाइएको छ।
सन् १९७१ देखि नेपालले युएनएफपीएसित सहकार्य गर्दै आएको छ। यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका साधन पुहँच पु¥याउन, किशोरी शिक्षा, बालविवाह तथा महिला हिंसा अन्त्य, जनसङ्ख्या व्यवस्थापनलगायतको क्षेत्रमा नेपाल सरकारलाई युएनएफपीएले आर्थिक एवं प्राविधिक सहयोग निरन्तर गर्दै आएको छ। (रासस)