काठमाडौं — नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएकाे छ। आज बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किदा दुर्घटना भएको हो।
चालक निदाएका कारण दुर्घटना भएको समाचारमा उल्लेख छ। दुर्घटनामा परि दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्।घाइते हुनेमध्ये अधिकांस नेपाली रहेको बताईएको छ।
घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।दुर्घटनामा बसका चालक र परिचालक पनि घाइते भएका छन्।
भारतीय अखबार दैनिक जागरणले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार नविन थापा, नन्दू, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायत घाइते भएका छन्। समाचारमा उनीहरुको ठेगाना भने खुलाइएको छैन।
सो बस नेपालको कुन स्थानबाट प्रस्थान गरेको हो भन्ने प्रष्ट हुन सकेको छैन। नेपालगञ्ज प्रहरीका अनुसार बस दुर्घटनाबारे प्रारम्भिक जानकारी आएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ।